झापा ।
नेपाली कांग्रेसको पालिका अधिवेशन सकिएपछि क्षेत्रीय र जिल्ला अधिवेशन दसैँ–तिहारको बीचमा हुने भएको छ । सिंहदरबारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले अधिवेशन दसैँ–तिहारको बीचमा पुर्याउने समझदारी गरेको हो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वडा र पालिका अधिवेशन दसैँ अगाडि सकेर प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन दसैँपछि गर्ने बताएका थिए । तर, त्यसलाई पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले खण्डन गरेका थिए ।
‘वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आगामी ९ गते नै पालिका अधिवेशन हुन्छ, देशभरका साथीहरू भ्रमित नहुन आग्रह गर्दै म फेरि भन्छु, पालिका अधिवेशनका निर्धारित मितिमा कुनै बलदाव आएको छैन,’ शर्माले भनेका थिए, ‘क्रियाशील सदस्यता टुंग्याउन नसकिएका बाँकी १३ जिल्लाको हकमा प्रक्रियासंगत छानबिन गरेर टुंग्याउने समझदारी भएको छ ।’
उनले प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनको तालिकाका विषयमा आवश्यक निर्णय केन्द्रीय निर्वाचन समितिले नै गर्ने बताएका थिए । वरिष्ठ नेता पौडेल र प्रवक्ता शर्माका फरक–फरक अभिव्यक्तिपछि देशभरका कांग्रेस कार्यकर्तासँगै निर्वाचन समितिसमेत अन्योलमा परेको थियो । फरक–फरक सूचना सामाजिक सञ्जालमार्फत प्रभाव भइरहेको थियो ।
अन्योल केन्द्रीय निर्वाचन समितिमा पनि देखिएको थियो । देशभरबाट निर्वाचन समितिका पदाधिकारीहरूलाई समितिले खटाएका निर्वाचन अधिकृतदेखि देशभरका नेता–कार्यकर्ताले फोन गरेर जिज्ञासा राखिरहेका थिए । तर, निर्वाचन समितिसँग जवाफ थिएन । हामीले निर्वाचन समितिसँग बाँकी अधिवेशन कहिले हुन्छ भनेर सोध्दासमेत उनीहरूसँग कुनै जवाफ थिएन ।
बिहीबार पनि प्रवक्ता शर्माले प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशनका विषयमा पदाधिकारी बैठकले निर्णय नगरेको जानकारी दिए । ‘वडा अधिवेशन सम्पन्न भएका जिल्लाका पालिका अधिवेशन तालिकाअनुसार नै हुनेछ,’ शर्माले भने, ‘बाँकी अधिवेशनको हकमा निर्वाचन समितिले नै उचित निर्णय लिनेछ ।’
उनले आफैँले बनाएर दिएको कार्यतालिका पटक–पटक संशोधन गर्नु उचित नभएकाले पदाधिकारी बैठकले त्यस विषयमा निर्णय नलिएको बताए । तर, अहिले भने केन्द्रीय निर्वाचन समिति दसैँ–तिहारको बीचमा प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन गर्ने भन्नेमा प्रस्ट भएको छ ।