झापा ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा कार्यकर्तालाई सम्बोधन गर्न आइतबार गृहजिल्ला झापा आए । प्रस्ट बोल्ने शर्मा यसपटक मलिन अनुहारमा थिए । शर्मा झापालाई कम्युनिस्टको उद्गम भूमि भन्दै थिए । कम्युनिस्ट नेता मदन भण्डारी सम्झँदै थिए । कम्युनिस्टको संस्कार मनन गर्दै थिए, धेरथोर पछिल्लो कम्युनिस्टलाई प्रहार गर्दै थिए । थोरै नजिकका कार्यकर्ताले मात्रै महसुस गरे । यसपटक झापामा कार्यकर्तालाई सम्बोधन गर्न प्रवक्ता शर्मा पूरापुर भने खुल्न सकेनन् ।

मञ्चको अगाडि शर्मा बोल्दै थिए, मञ्चको पछाडि टाँगिएको ब्यानरमा कार्यकर्ताले ध्यान नै दिएनन् । ब्यानरमा आयोजकको नाम लेखिएको थियो ‘विचार प्रचार अभियान संयोजन समिति ।’ न कांग्रेसको नाम थियो, न कांग्रेसको नारा ।

संविधान दिवसको अवसर पारेर झापा आएका शर्माले महामन्त्री पदमा उम्मेद्वारी घोषणा गरेका छन् । उनले झापाबाट अवधारणा सार्वजनिक गर्ने कार्यक्रम बनाएका थिए । २४ बुँदे अवधारणा सार्वजनिक भएको कार्यक्रममा न कांग्रेसका जिल्ला सभापति थिए, न नगर सभापति ।

कांग्रेस प्रवक्ताले अवधारणा सार्वजनिक गरेको कार्यक्रममा कांग्रेस जिल्ला सभापति उद्धव थापा, बिर्तामोड नगर सभापति भोजराज सिटौला, क्षेत्रीय सभापति खगेन्द्र मैनाली लगायत नेता उपस्थित थिएनन् । कांग्रेस नेता तथा संविधानसभा सदस्य सुधीर सिवाकोटीले पनि कार्यक्रममा उपस्थित थिएनन् ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनलाई लिएर झापामा कांग्रेस दुई ध्रुवमा देखिएको छ । आइतबारको कार्यक्रममा शर्मा झापा आएपछि ध्रुवीकरण थप प्रस्टिएको हो । एउटा समूहको नेतृत्व विश्वप्रकाश र अर्को समूहको नेतृत्व कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले सम्हालेका छन् ।

दुवै नेताको स्वभाव फरक छ । दुवै नेता कार्यकर्तासँग प्रस्तुत हुने तरिका फरक छ । सिटौला शालीन छन् र थोरै बोल्छन् । शर्मा तार्किक छन्, जोसँग बोल्छन् उसलाई उसैको कुरा भनेजस्तो लाग्छ । शर्मा स्पष्टसँग आफ्नो मत राख्छन् ।

तर, कांग्रेस राजनीतिमा स्थापित दुवै नेता अधिवेशन पेरिफेरि आएर दुई ध्रुवमा देखिएका छन् । यसपटकको जिल्ला अधिवेशनमा सिटौलाले भित्रभित्रै देउमान थेवेलाई सघाएका छन् । थेवेको प्यानल सिटौलाको जगमा टेकेर आयो । शर्माले भने आफ्नै वडाका नेता राम कट्टेललाई सभापतिका रूपमा अघि सारेका छन् । 

शर्मा कांग्रेसमा ठूलै चर्चाका साथ आइतबार बिर्तामोड आए । अग्रसेन भवनमा कार्यक्रम राखे । कार्यक्रममा उपस्थित कार्यकर्तालाई राम्रै प्रभाव पारे । शर्मा सुनिरहेका कार्यकर्ताको अनुहारमा प्रसन्नता देखिन्थ्यो ।

तर, कार्यक्रममै केही अनौठा दृश्यहरू देखिए । कार्यक्रम हल भरिभराउ थियो । त्यहाँ विश्वप्रकाश समर्थक नेता कार्यकर्ताको बाहुल्य थियो । कांग्रेस झापाका नेता राम कट्टेलले सभापतिको उम्मेद्वारी घोषणा गरे । उनी शर्माकै ध्रुवका नेता हुन् ।

कार्यक्रममा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि भने उपस्थित थिए । कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेल र बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गराज राजवंशी उपस्थित थिए ।