• उद्धव पुरी

शिवसताक्षी । 

 नेपाली काँग्रेसको १४ औं अधिवेशन अन्र्तगत असोज ९ गते हुने नगर अधिवेशनका लागि शिवसताक्षी नगरमा दुईजनाले सभापतिको उम्मेद्वारी घोषण गर्दै चुनाव प्रचारप्रसारलाई तिव्र बनाएका छन् । भदौ २७ गते भनिएको नगरको अधिवेशन असोज ९ गतेलाई शरेपनि प्रचारप्रसारलाई दुवै प्यानलका उम्मेद्वारले निरन्तरता दिदै आएका छन् । चुनाको मिति नजिकिदै गर्दा दुवै समुहले आ–आफ्नोतर्फबाट जित्ने दावी गर्दै आएका छन् । 

 नगरको सभापतिमा अशोक बस्नेतको नेतृत्वमा एउटा प्यानल खडा भएको छ भने नेपाली कांग्रेसका वर्तमान उप–सभापति समेत रहेका तुला बोखिमको  नेतृत्वमा अर्को प्यानल खडा भएको छ । दुवैजना उम्मेद्वारले चुनाव प्रचारप्रसासलाई तिब्रता दिएका हुन् । 

उम्मेद्वार बस्नेतको प्यानलले मताधिकार प्राप्त नेपाली कांग्रेसका वडा सभापति र क्षेत्रीय प्रतिनिधिसँगको भेटघाटलाई तीव्रता दिदै आएको छ । त्यस्तै शिवसताक्षी नगरबाट प्रतिनिधित्व गर्ने महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि लगायतका नेता कार्यकर्तासँगको भेटघाटलाई पनि निरन्तरता दिदै आएको छ । 

पार्टीका नेता कार्यकर्ता, वडा सभापति, क्षेत्रीय प्रतिनिधि तथा अग्रजबाट आफ्नो प्यानललाई समर्थन रहने बताउँदै नगर सभापतिका उम्मेद्वार बस्नेतले भूगोल र समावेशिताका आधारमा समेत बलियो उम्मेद्वार आफ्नो प्यानलमा रहेको बताए । निस्पक्ष तथा निर्भिक स्वभावका बस्नेत शिवसताक्षी नगरमा लोकप्रिय युवाका रुपमा चिनिन्छन् । 

शिवसताक्षी नगरपालिका स्थापना हुनु पूर्व तत्कालीन पाँचगाछी गाविसको तीन पटक पार्टीको सभापति भएका पदम थापाले पनि बस्नेत समुहलाई सहयोग गर्ने भएको बताइएको छ ।  .

बस्नेतले आफ्ना प्यानलका उम्मेद्वारले लामो समयसम्म पदको त्याग गरेको बताए । इमान्दार, कर्तव्यनिष्ठ र राजनीतिक अनुभव भएका उम्मेद्वार आफ्नो प्यानलमा भएको उनको दावी छ ।  उनको प्यानलबाट सन्तकुमार फेउदेन र भुपालप्रसाद राजबंशी उपसभापति पदका उम्मेद्वार बनेका छन् भने रमेश राई र होम दुलाल पार्टीको नगर सचिव पदको उम्मेदवार रहेका छन् । त्यस्तै सूर्यप्रकाश योङया र राजनारायण ताजपुरिया सहसचिवका उम्मेद्वार हुन्् । 

 नगरमा पहिलो पटक वडा पार्टी कार्यालय बस्नेतले नै स्थापना गरेको बताइएको छ ।  आगामी ५ वर्षका लागि नगरको सभापति पदमा उम्मेदारी घोषणा गरेका बस्नेत नेपाली कांग्रेसको विद्यालय तह देखिनै राजनीतिमा सक्रिय छन् । पार्टीको नगर नेतृत्व सम्हालेपछि जात, धर्म, लिंग, भूगोल, पार्टीमा सक्रियता र इमान्दार नेता–कार्यकर्तालाई जिम्बेवार र समाज रुपान्तरणका लागि थप क्रियाशील बनाइने उनले बताए ।  बस्नेत सामाजिक अगुवाको रुपमा पनि परिचित छन् । 

सो प्यानलमा शिवसताक्षी नगरपालिका वडा नम्बर ११ बाट अशोक बस्नेत नगर सभापति पदका उम्मेदवार बनेका छन् । यस्तै वडा नम्बर ८ का सन्तकुमार फेउदेन र वडा नम्बर ४ का भूपालप्रसाद राजवंशी उपसभापति पदका उम्मेदवार बनेका छन् । वडा नम्बर १ का रमेशकुमार राई र वडा नम्बर ४ का होमप्रसाद दुलाल सचिव पदका उम्मेदवार बनेका छन् । यता वडा नम्बर ९ का सूर्यप्रकाश योङया र वडा नम्बर ६ का राज नारायण ताजपुरिया सहसचिवका उम्मेदवार बनेका छन् । 

कांग्रेसको हालको विधान अनुसार नगर कार्यसमिति ६२ जनाको हुनेछ । जसमा १ सभापति, २ उपसभापति, २ सचिव, २ सह–सचिव र १ कोषाध्यक्ष रहने व्यवस्था छ । नगरको नेतृत्व चयनका लागि ११ वडा सभापतिसहित कम्तिमा ३ सय ६८ क्षेत्रीय प्रतिनिधि वडाबाट चयन भएका छन् । 

प्रत्येक वडाबाट एक महिलासहित ३ जना गरेर ३३ जना र समावेसी २२ जना गरेर शिवसताक्षी नगरमा ७ पदाधिकारीसहित ६२ जनाको नगर समिति बन्ने छ ।