कचनाकवल ।
राष्ट्रिय प्रजातन्त्र पार्टी कचनकवलमा एक सय २१ जना सदस्यसहितको जनवर्गीय सङ्गठन समिति सर्वसम्मत चयन भएकोे छ । पार्टीले विहीबार आयोजना गरेको राष्ट्रिय प्रजातान्त्रिक महिला, युवक तथा किसान सङ्गठनको गाउँ अधिवेशनले समिति चयन गरेको हो ।
कचनकवल गाउँपालिका भित्र रहेका ७ वडामा भदौ मसान्तसम्म वडा अधिवेशनले नामावली छनौट गरेको थियो । विहीबारको अधिवेशनले धनबहादुर तामाङ (छोटु)को नेतृत्वमा ३९ सदस्य सहितको युवक, रुपा गौतमको संयोजकत्वमा ३७ सदस्य रहनेगरी महिला र शङ्करप्रसाद गणेशको नेतृत्व रहने गरी ३५ सदस्यको किसान सङ्गठन सर्वसम्मत चयन गरेको थियो । चयन भएका सदस्यलाई कार्यक्रमका प्रमुख अतिथि सङ्घीय सांसद राजेन्द्रप्रसाद लिङ्देन लगायतले स्वागत गरेका थिए । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ३० जना भन्दा बढीले पार्टी प्रवेश गरेका थिए ।
कचनकवलमा पार्टीको कार्यालय निर्माणका लागि शिलान्यास गरिएको थियो । पालिका अध्यक्ष अञ्जरा आलमले एक कठ्ठा जमिन निःशुल्क सहयोग गरेपछि अन्य कार्यकर्ताले क्षमता अनुसारको रकम सहयोग गर्ने सार्वजनिक गरेका थिए । जनश्रमदानबाट ३ महिना भित्र कार्यालय भवन निर्माण हुने भवन निर्माण समितिका संयोजक रुद्रमणि अर्यालले ठोकुवा गरेका थिए । गाउँ सभापति छविरमण ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य मुन्ना आलम, पार्टीका दमक नगरसभापति हेम सुवेदी, पालिका अध्यक्ष अञ्जरा आलम, उपाध्यक्ष नीमसरी राजवंशी,पूर्व जिल्ला अध्यक्ष अम्बर विष्ट,वर्तमान अध्यक्ष केशव प्रसाद ओझा, प्रदेश १ संयोजक राम थापा, केन्द्रीय सदस्य देविरमण भट्टराई, लक्ष्मी सङ्ग्रौला, युवक सङ्गठनका गाउँ संयोजक धनबहादुर तामाङ लगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए ।
पालिका विद्यार्थी सङ्गठन अध्यक्ष विकाश घिमिरेले स्वागत गरेको कार्यक्रमको सञ्चालन पार्टीका सचिव टेकनारायण राजवंशीले गरेका थिए