बिर्तामोड ।
नेकपा एमालेका अध्यक्ष कपी शर्मा ओलीले पार्टी विभाजन नभएको बताएका छन् । उनले एमालेबाट विभाजन नभएको बताउँदै चोइटिएर गएका छेस्काहरुको समुह मात्रै रहेको बताएका छन् । झापाको बिर्तामोडमा मंगलबार एमाले जिल्ला कमिटि झापाले विर्तामोडमा आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन अध्यक्ष ओलीले लामो समयसम्म एमालेमा रहेर नेता माधवकुमार नेपालले फाइदा मात्र लिएको र अन्त्यमा बेइमानी गरेको बताएका छन् ।
एमालेलाई फुटाए पनि सिंगो पार्टीले हिम्मत नहारेको र आगमी तीन तहकै निर्वाचनमा पनि एमालेकै जित हुने समेत उनले दावी गरे । एमालेको सरकारले ३ वर्षमा गरेका विकास निर्माणका काम स्मरण गर्दै उनले प्रतिक्रियाबादीहरुले विकास नचाहेकाले सरकार ढलाइएको तर्क गरेका छन् । एमाले सरकारले विकास धेरै गरेको देखेर र फेरि पनि हुने निर्वाचनमा एमालेलेनै बहुमत ल्याउने भएका कारण विभिन्न देशी तथा विदेशी सक्तीहरु लागेर सरकार सरकार ढालेको आरोप उनले लगाए ।
उनले यो अवधिमा कांग्रेस नेतृत्वको सरकारले एउटा पनि राम्रो काम नगरेको आरोप लगाए । सभामुख अग्नि प्रसाद सापकोटाले पदिय जिम्मेवारी भुलेर माओवादी केन्द्रको कार्यकताको भूमिका निर्वाह गरेको समेत अध्यक्ष ओलीले आरोप लगाए ।जवसम्म पार्टिले कार्वाहि र निस्कासन गरेका सांसदहरुको बारेमा सदनलाई जानकारी गराइदैन तव सम्म संसद अवरुद्ध पनि पारीरहने उनको भनाई थियो ।
कार्यक्रममा एमाले केन्द्रीय कमिटि सदस्य तथा झापा जिल्ला कमिटि इन्चार्ज रबिन कोइराला, एमाले केन्द्रीय कमिटि सदस्य हिक्मत कार्कीले लगायतले आ–आफ्ना भनाई प्रस्तुत गरेका थिए ।