झापा । 

 नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिव योगेश भट्टराईले माधवकुमार नेपाल पार्टीको प्रतिपक्षमा बस्न नरुचाउने व्यक्ति भएकाले पार्टी विभाजन गरेका बताएका छन् ।  आज सोमबार झापाको विर्तामोडमा आयोजित नेकपा एमाले झापाको जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै सचिव भट्टराईले भने, नेकपा एमालेको सत्तामा १५ वर्षभन्दा बढी बसेका नेपाल जतिखेर प्रतिपक्षमा बस्ने पुगे त्यति नै खेर उनले पार्टी नै विभाजनतिर लगे ।’

नेता भट्टराईले अहिले नेकपा एमालेलाई चारैतिरबाट घेराबन्दीमा पार्ने प्रयत्न गरिएको छ तर, त्यो सफल नहुने बताए । नेकपा एमाले आफ्ना विरुद्धको घेराबन्दीको सामना गर्न एमाले तयार रहेको बताउँदै पूर्व मन्त्री भट्टराईले भने ‘एमाले एक्लै सबैखाले घेराबन्दीलाई परास्त गर्न सक्छ, एमाले एक्लै लड्छ ।’

कम्युनिष्टहरुको जन्मभूमि शहीदहरुको पुण्यभूमि झापाले पार्टी एकताको कसिलो सन्देश दिएको बताउँदै नेता भट्टराईले कमरेड मदनले स्थापित गरेका जनताको बहुदलीय जनवाद गतिशील विचार बोकेर नेकपा एमाले कम्युनिष्टहरुको जेठो पार्टी र नेपालको मूल पार्टीको रुपमा स्थापित भएको बताए । उनले यस पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाई अगाडि बढाउने जिम्मा हाम्रो काँधमा आएको बताए । उनले एमाले विभाजन भएको तर पार्टी विद्रोह नभएको बताए । 

पार्टी बैठकलाई सम्वोधन गर्दै एमाले पोलिट व्यूरो सदस्य अग्नी खरेलले नेकपा एमाले नेपाली जनताको भावना अनुसार, लोकतान्त्रिक विधि र प्रक्रियाबाट चल्ने पार्टी भएकाले अब देशकै सबैभन्दा ठूलोपार्टी भएको बताए । ‘पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला नेपालले विकास निमार्णको क्षेत्रमा अभूतपूर्व फड्को हानेको’ चर्चा गर्दैै पूर्व मन्त्री खरेलले भने ‘नेकपा एमाले नेपालको मूल प्रवाहको पार्टी भएको छ ।’ 

उनले ‘नेकपा एकीकृत समाजवादी गैर कानुनी तरिकाबाट गठन भएको, एमालेबाट २० प्रतिशतभन्दा पनि सानो हिस्सा चोइटिएर गएको पार्टी भएको र अर्को निर्वाचनसम्म यो पार्टीको नाम निसान नरहने बताए । 

चोइटिएर गएको पार्टीको अविगतको चर्चा गर्दै पोलिटव्यूरो सदस्य खरेलले हिजो ४०÷५० प्रतिशतमा फुटेको पार्टीको हविगत कस्तो भयो सबैलाई थाहा छ, त्यो पार्टीसँग महाकाली संन्धिको राष्ट्रियताको एजेण्डा थियो एमालेले राष्ट्रघात गरेको आरोप लगाउँदै अघि बढेको थियो र त त्यो पार्टी धरासायी भयो, ठीक उल्टो धारणा राख्दै पद र प्रतिष्ठाको लागि पार्टी विभाजन गर्नेहरुको अवस्था जनताले देखाउने छन् । उनीहरुलाई निर्वाचनमा जाँदै गर्दा जनताले प्रश्न सोध्ने छन् तिमीहरुले पार्टी किन विभाजन गरेको ? विकास र समृद्धिको अभियानलाई किन धक्का लगायौं भन्दा उनीहरुको के जवाफ हुने ? खरेलले प्रश्न गरे । 

नेकपा एमालेले पास गरेको १० बँुदे सम्झौता कार्यान्वयन बैठकलाई नेकपा एमाले एक नम्बर प्रदेश कमिटीका अध्यक्ष देवराज घिमिरेले नेकपा एमाले शालिन ढंगले बगिरहने नदीजस्तै गतिशील पार्टी भएको चर्चा गर्दै ‘समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा बोकेर हिडेको नेकपा एमालेलाई घेराबन्दीमा पार्न पंूजिवादी जनविरोधी शक्तिहरुले गैर कानुनी प्रक्रियाबाट ल्याएको विधेयकले एमाले चोइटिएको बताए । उनले अहिले बुजुर्वाहरुले निक्कै प्रचार गरेर माधवकुमार नेपाललाई हिरो बनाएका छन् निर्वाचनपछि उनको हैसियत थाहा हुने बताए ।