विर्तामोड ।
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले नेपाली कांग्रेस झापा ५ ‘ब’ को नीति लिएर अघि बढेको बताएका छन् । नेपाल प्रेस युनियन झापाको आयोजनामा विर्तामोडमा सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशन र झापाको संगठन विषयक अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि रहेका थापाले आफ्नो १० वर्षे (दुई) कार्यकालको संक्षिप्त कार्यपत्र प्रस्तुत गर्दै सभापति थापाले यस्तो धारणा राखेका हुन् । राष्ट्रियता, प्रजातन्त्र र समाजवादी विचार, सामाजिक व्यवहार, व्यवसाय, जनचाहना अनुसारको विकासमा सक्रियता र बिपतमा कांग्रेसको नीतिमा अघि बढेको बताए ।
आफ्नो नेतृत्वमा १० वर्ष झापा कांग्रेसका गतिविधि सक्रियता पूर्वक अघि बढेको चर्चा गर्दै सभापति थापाले यस अवधिमा प्रजातान्त्रिक आन्दोलनमा जीवन गुमाएका शहिदहरुको सम्झनामा प्रतिष्ठान तथा शालिक निर्माण गरेर प्रतिष्ठान मार्फत सर्वसाधारण जनतामा प्रजातान्त्रिक चेत भर्ने काम भइरहेको बताए ।
विश्वनाथ घिमिरे, तुर्सा हेमरम, याम आचार्य, बुटन चौधरी, श्यामसुन्दर यादव, चन्द्रमणी भट्टराई, राजन गिरी लगायतको स्मृतिमा प्रतिष्ठान स्थापना गरी शालिक निर्माण गर्ने कार्य सम्पन्न भएको र केही प्रजातान्त्रिक योद्धाहरुको प्रतिष्ठान तथा शालिक निर्माण कार्य अघि बढाइएको जानकारी दिए ।
आफ्नो कार्यकालमा पार्टीलाई आर्थिक रुपले सवल बनाएर चन्दा मागेर पार्टी चलाउने परीपार्टीको अन्त्यका लागि क्रियाशील सदस्य नवीकरणमा न्यून लेवी तय गरेर वडादेखि जिल्ला सम्मको आर्थिक अवस्था सुदृढ गरिएको जानकारी दिंदै यसलाई केन्द्रीय समितिले समेत अनुकरण गरेको सभापति थापाले बताए ।
लगभग ५ दशकदेखि झापाको राजनीतिमा सक्रिय थापाले पार्टीका गतिविधिहरुलाई संस्थागत रुपमा अघि बढाउन क्षेत्रीय, गाउँ÷नगर र वडा पार्टी कार्यालय निर्माण भएको र केही निर्माणको प्रक्रियामा रहेको जानकारी दिए ।
झापा कांग्रेसमा १६ हजार बढी क्रियाशील सदस्य नविकरण र १७ हजार बढी नयाँ सदस्यताका लागि सिफारिस गरिएको जानकारी दिए ।
विगतको इतिहासलाई जोगाएर पार्टी संगठनलाई बलियो बनाउँदै आम निर्वाचन पछि मात्रै पार्टीको आन्तरिक महाधिवेशन गर्दा संगठनको हित हुने धारणा राखे सहमति सहकार्य र एकताको नमूना झापाबाट प्रस्तुत गर्नुपर्नेमा जोड दिंदै उनले विगतदेखि वर्तमानसम्मको नेतृत्वले कांग्रेसको संगठन बलियो बनाउन गरेको निष्ठा, त्याग र समर्पण सम्मानयोग्य रहेको धारणा राखे ।
अन्तरक्रियामा बोल्ने अधिकांस वक्ताहरुले पार्टीको आन्तरिक लोकतन्त्र सुदृढिकरणका लागि समयमै महाधिवेशन अत्यावश्यक रहेपनि समय र परिस्थितिको मूल्याङ्कन गर्दै संघ, प्रदेश र स्थानीय निर्वाचनपछि महाधिवेशन गर्नु कांग्रेसको हितमा हुने धारणा राखेका थिए ।