काठमाडौं ।
नेकपा एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर समूहको निवेदन अनुसार दल दर्ताको लागि केही दिन लाग्ने निर्वाचन आयोगले जनाएको छ । दल दर्ताको लागि अध्यादेशअनुसार नियमावली बन्नुपर्ने लगायतका प्रक्रियाका कारण तत्कालै दल दर्ता नहुने भएको हो ।
दल दर्ताका लागि निवेदन परेको ३५ दिनभित्र आयोगले निर्णय गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि १५ दिनसम्ममा प्रक्रिया पूरा गर्ने आयोगको तयारी छ । दल दर्ताको लागि परेको निवेदनमाथि अध्ययन गर्ने काम भने सुरु हुने आयोगको भनाइ छ ।
निर्वाचन आयोगमा बुधबार माधवकुमार नेपाल अध्यक्ष प्रस्तावित गरिएको नेकपा एमाले समाजवादी र महन्थ ठाकुर अध्यक्ष प्रस्तावित जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिकको दल दर्ताका लागि निवेदन दर्ता भएका छन् ।
नयाँ दल दर्ताको लागि प्रस्तावित नाम, चिह्नलगायतका विषय मिल्ने–नमिल्ने हेरेर आयोगले निर्णय लिनेछ । नयाँ दल दर्ताको लागि केन्द्रीय कमिटी कम्तीमा २१ जनाको र कमिटीमा कम्तीमा ३३ प्रतिशत महिला हुनुपर्छ ।