काठमाडौँ । 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इमान्दार कम्युनिष्टको एकता अहिलको आवश्यकता भएको बताएका छन्  । शहीद रामवृक्ष यादवको २७औँ स्मृति दिवसका अवसरमा बुधवार  माओवादी केन्द्रको पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले  भर्खरै सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले पार्टी पुुुनर्निर्माण गर्ने सङ्कल्प गरेको बताए । 

माओवादी शान्ति सम्झौता प्रक्रियामा आएपछि क्रान्तिकारी चरित्र, संस्कार बिर्सिंदै गएको गुनासो आएकाले यसकाविरुद्ध आफैँ आत्मसमीक्षा गर्ने, सङ्कल्प गर्न आवश्यकता रहेकामा उनले जोड दिए ।  अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनमा गएर विचारलाई अझ परिमार्जन, परिस्कृत गर्ने, महाविशेनसम्म गएर त्यसलाई थप समृद्ध गर्ने तयारीमा पार्टी रहेको जानकारी दिए ।  उनले कम्युनिष्ट पार्टीहरुबीच एकताको झण्डा र राष्ट्रिय एकताको झण्डा उठाउने सङ्कल्प आफूहरुले गरेको जनाउँदै कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्दै, सबै खाले टुटफुटविरुद्ध उत्रिन आवश्यक रहेकामा जोड दिए ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले शहीद रामवृक्ष यादवको स्मरण गर्दै यादव विचारमा प्रस्ट, सिद्धान्तमा निष्ठावान्, आन्दोलनमा समर्पित, सबैसँग मिलनसार, मृदुभाषी, बहुआयामिक व्यक्तित्व रहेको बताए । तराई, मधेसको सर्वमान्य नेताका रुपमा स्थापित हुँदै अघि बढेका यादवको जनयुद्धको तयारीका क्रममा हत्या भएको र त्यसबेला पार्टीलाई ठूलो क्षति पुगेको उनले जानकारी दिए  । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले शहीद यादवको व्यक्तित्वको चर्चा गर्दै कम्युनिष्ट आन्दोलनमा उहाँको योगदान सदा स्मरणीय रहने बताए ।