काठमाडौं । 

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक  बिहीबार बस्ने र  १४ औं महाधिवेशनको नयाँ कार्यतालिका र निर्वाचन निर्देशिकाबारे छलफल हुने  भएको छ । 

भदौ १६–१९ सम्मका लागि निर्धारित महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि नयाँ कार्यतालिका ल्याउनेबारे कांग्रेसभित्र छलफल चलिरहेको छ । बुधबार पार्टीका शीर्ष नेताहरुबीच महाधिवेशनका बारेमा घण्टौं छलफल भएको थियो ।

निर्धारित मितिमा महाधिवेशन नहुनेमा नेताहरु सहमत भएपनि नयाँ कार्यतालिकाका बारेमा भने कुरा मिल्न नसकेको बैठकमा सहभागी एक नेताले बताए । ती नेताका अनुसार सभापति शेरबहादुर देउवाले मंसिरमा महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनुपर्ने प्रस्ताव गरेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले भने भदौ २३ अघि नै अधिवेशन प्रारम्भ गरेर असोजमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

 संस्थापन पक्षले भने महाधिवेशनको कार्यतालिका ल्याउने गरी आन्तरिक तयारी गरिरहेको छ ।