झापा ।
रोमानियाले गैरयुरोपेली मुलुकबाट विदेशी कामदार भर्ना गर्ने प्रक्रिया पुनः सञ्चालन गर्ने सम्भावना बढेको छ । रोमानिया नेपाली श्रमिक लामो समयदेखि रोजगारीका लागि गइरहेको मुलुक हो ।
असोजमा रोमानियामा म्यानपावर कम्पनीमार्फत श्रमिक नगए पनि व्यक्तिगत श्रम स्वीकृतिमा ४७५ जना गएका छन् । लामो समयदेखि प्रभावित हुँदै आएको विदेशी कामदार भर्ना प्रक्रियालाई सहज बनाउन रोमानिया सरकारले ‘वर्क इन रोमानिया’ डिजिटल प्लेटफर्म पुनः सञ्चालन गर्ने तयारी गरेपछि गैरयुरोपेली श्रमिकका लागि रोजगारीको सम्भावना बढेको हो ।
रोमानियामा विदेशी कामदारको माग उच्च रहे पनि प्रशासनिक तथा प्राविधिक समस्याका कारण भर्ना प्रक्रियामा समस्या उत्पन्न हुने गरेको छ । यसबाट उक्त मुलुकका निर्माण, होटल तथा रेस्टुरेन्ट, उत्पादन र सेवा क्षेत्रका रोजगारदाता कम्पनीहरू प्रभावित भएका थिए । त्यहाँ कार्यरत विदेशी कामदारहरूले रोजगारी र तलब पाउन संघर्ष गरिरहेको अवस्थामा नयाँ कामदार भित्र्याउँदा थप समस्या निम्तिन सक्ने बताएका छन् । उनीहरूले काम नपाउने र रोजगारदाता परिवर्तन गर्न कठिनाइ हुने गरेकाले भविष्य अनिश्चित बनेको भन्दै चिन्ता व्यक्त गर्ने गरेका छन् ।
हाल नेपालबाट संस्थागत रूपमा थोरै श्रमिक गएपनि व्यक्तिगत श्रम स्वीकृतिमा रोमानियासँगै बुल्गेरिया, माल्टा, क्रोएसिया, मोल्डोभा, पोर्चुगल, ग्रिस, सर्बिया, पोल्यान्ड, स्लोभेनिया, साइप्रस, बेलारुस र स्लोभाकियाजस्ता युरोपेली मुलुकमा नेपालीहरू कामका लागि गइरहेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ ।
प्रतिक्रिया 0