काँकरभिट्टा ।
भारतका विभिन्न बाल संरक्षण गृहमा रहेका छ जना नेपाली बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फर्काई परिवारसँग पुनर्मिलन गराइएको छ। भारतको पश्चिम बंगाल सरकार, कोलकातास्थित नेपालको महावाणिज्यदूतावास र नव अभियान नेपालबीचको निरन्तर समन्वय तथा सहकार्यपछि उनीहरूको स्वदेश फिर्ती प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको हो।
पुनर्मिलन गराइएका बालबालिकामा १६ वर्षीया पूजा दनुवार, १६ वर्षीया रीता मण्डल, १५ वषीया सीता लिम्बु,१४ वर्षीया कमल मुखिया, १६ वर्षीय विनोद माझी,१५ वषीया सन्दिप गुप्ता रहेका छन्। (बालबालिकाको गोपनीयता र सुरक्षालाई ध्यानमा राखी समाचारमा नाम परिवर्तन गरिएको छ।)
फरक–फरक परिस्थितिमा भारत पुगेका बालबालिका प्राप्त विवरणअनुसार, सिराहाको हरिनगर क्षेत्रकी रीता करिब तीन महिनाअघि परिवारसँग बाबाधाम तीर्थयात्रामा जाने क्रममा भारतको उढिसाबाट हराएकी थिइन्।
त्यसैगरी, ईलामकी सीता घरबाट एक्लै भागेर भारत जादा हराएकी हुन । मोरङको उर्लाबारीकी पूजा २०८० सालतिर भारतको सिलिगुडीस्थित सालबारीमा आफन्तको घरमा बसेर काम गर्दै पढिरहेको अवस्थामा हराएकी थिइन्।
धनुषाको रघुनाथपुरका कमल केही महिनाअघि आफ्ना भिनाजुसँग भारतको कोलकाता घुम्न गएको समयमा हराएका थिए। त्यस्तै, सर्लाहीको बलरा क्षेत्रका विनोद गत असार महिनामा भारतको पन्जाबमा धान रोप्ने काम सकेर स परिवार घर फर्किने क्रममा अम्मृतसरमा हराएका थिए भने बाराको कलैयाका सन्दिप गाउँका दाजुहरुसग पछि लागेर तामिलनाडु काम गर्न जादा हराएका हुन्।
यी बालबालिकाहरु भारतका विभिन्न संरक्षण गृहहरु मध्ये पूजा र सीता माटीगढा चिल्ड्रेन्स होम फर गर्ल्स, दार्जिलिङमा रहेकी थिइन् भने रीता हावडास्थित एसएमएम होममा,विनोद कोलकातास्थित न्यू एज सोसाइटीमा र कमल र सन्दिप हावडास्थित इतिन्दा संरक्षण गृहमा रहेका थिए। भने सन्दिपलाई कोलकातास्थित नेपालको महावाणिज्यदूतावास र नव अभियान नेपालबीचको समन्वय तथा सहकार्यमा सरक्षण गृहबाट अभिभावक प्रेमचन्द गुप्ताले जिम्मा लिएर छोरा सन्दिपलाई घर ल्याएका थिए।
बालबालिकाको पुनर्मिलन प्रक्रियामा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी निशेष चापागाई, महिला तथा बालबालिका शाखाकी प्रहरी नायब निरीक्षक मिलनकुमारी राई, कोलकातास्थित नेपालको महावाणिज्यदूतावासका कार्यालय सचिव सतीश थापा, नव अभियान नेपालका प्रतिनिधि तथा बालबालिकाका अभिभावकहरूको उपस्थिति रहेको थियो।
सम्बन्धित निकायबीचको समन्वयमा आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी बालबालिकालाई सुरक्षित रूपमा अभिभावक तथा परिवारको जिम्मा लगाइएको नव अभियान नेपालका क्षेत्रीय संयोजक इन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
संयोजक बस्नेतका अनुसार जोखिमपूर्ण अवस्थामा रहेका नेपाली बालबालिकाको खोजी, संरक्षण, उद्धार, कानुनी सहायता तथा परिवारसँग सुरक्षित पुनर्मिलन गराउने कार्यलाई संस्थाले प्राथमिकताका साथ अघि बढाउँदै आएको छ।
प्रतिक्रिया 0