झापा ।
शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप देवी स्कन्दमाताको विधिपूर्वक पूजाआराधना गरेर मनाइँदैछ । पहाडमा बसेर संसारका सम्पूर्ण जीवहरूमा नवचेतना प्रदान गर्ने देवीका रूपमा स्कन्दमातालाई श्रद्धापूर्वक स्मरण गर्ने परम्परा छ ।
कमलको फूलमाथि विराजमान रहने भएकाले पद्मासना देवीका नामले समेत चिनिने स्कन्दमाताको वर्ण सेतो तथा वाहन सिंह रहेको छ । यी देवीका चार हातमध्ये दाहिनेतर्फको माथिल्लो हातले काखमा रहेका सुपुत्र स्कन्दकुमार (कार्तिकेय) लाई सम्हालेको र तल्लो हातमा कमलको फूल सुशोभित छ ।
देब्रेतर्फको माथिल्लो हात वरमुद्रामा र तल्लो हातमा पनि कमलको फूल रहेको छ। स्कन्दमाताको उपासना गर्दा स्वतः स्वामी कार्तिकेयको समेत उपासना हुने विशेषता रहेको छ । देवी भागवत पुराणका अनुसार सूर्यमण्डलकी अधिष्ठात्री देवी भएकाले यिनको भक्तिपूर्वक पूजाआजा गर्नाले साधकले अलौकिक तेज र कान्ति प्राप्त गर्ने विश्वास गरिन्छ ।
धार्मिक मान्यताअनुसार कठोर तपस्यापछि ब्रह्माजीबाट भगवान् शिवका पुत्रको हातबाट मात्र मृत्यु हुने वर पाएको तारकासुरले तीनै लोकमा आतंक मच्चाएको थियो । त्यसपछि सतीदेवीले हिमालय पुत्री पार्वतीको रूपमा पुनर्जन्म लिई ब्रह्मचारिणी बनेर गरेको कठोर साधनाबाट प्रसन्न भई शिवजीसँग विवाह सम्पन्न भएको थियो। शिव र पार्वतीका सन्तानका रूपमा कुमार कार्तिकेयको जन्म भएपछि उनैले तारकासुरको वध गरी देवताहरूलाई मुक्ति दिलाएको पौराणिक प्रसङ्ग शास्त्रमा उल्लेख छ ।
स्कन्दमाताको उपासनाले भक्तका सम्पूर्ण मनोकामना पूरा हुनुका साथै मोक्ष प्राप्ति हुने र भवसागर पार गर्न कुनै कठिनाइ नहुने विश्वास गरिन्छ । धार्मिक आस्थाका साथै यिनको पूजाले मानसिक शान्ति, पारिवारिक सद्भाव र सामाजिक चुनौतीहरूसँग जुध्ने आत्मबल मिल्ने शास्त्रमा वर्णन गरिएको छ ।
भक्तजनहरूले शुद्ध भई हरियो रंगको वस्त्र पहिरिएर उत्तरतर्फ मुख गरी पूजा गर्ने शास्त्रीय मान्यता छ। देवीको प्रतिमा वा कलश स्थापना गरी पञ्चामृत, सेतो वा कमलको फूल, चन्दन, धूप–दीप, अक्षता, नैवेद्य र फलफूल चढाएर पूजा गरिन्छ । त्यसपछि वन्दना श्लोक र माताको स्तोत्र पाठ गर्दै केराको विशेष प्रसाद अर्पण गरी आरती गरेर प्रसाद ग्रहण तथा वितरण गर्ने गरिन्छ ।
प्रतिक्रिया 0