हल्दीबारी।
लागूऔषध दुर्व्यसन नियन्त्रण तथा यसको दुरुपयोगविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हल्दीबारी गाउँपालिकाको आयोजनामा ‘Say No to Drugs’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा हल्दीबारी गाउँपालिकाभित्रका ३० वटा सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूलाई लागूऔषधविरुद्ध जनचेतना फैलाउने उद्देश्यले तयार गरिएका सचेतनामूलक पोस्टर हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराई, वडा नं. १ देखि ५ सम्मका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, शाखा प्रमुखहरू, कर्मचारीहरू, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले स्वागत गरेका थिए भने लागूऔषधविरुद्ध झापा अभियानका विषयमा जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड्काले जानकारी गराएकी थिइन् । उनले अभियानका उद्देश्य तथा लागूऔषध नियन्त्रणका लागि गर्नुपर्ने प्रयासबारे प्रकाश पोरेकी थिइन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले लागूऔषधविरुद्धको अभियानलाई सफल बनाउन सबै पक्षको सक्रिय सहभागिता र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अभियानमा साथ दिन अनुरोध गरेका छन् ।
कार्यक्रमका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनले लागूऔषध दुर्व्यसन नियन्त्रण गर्नु सबैको साझा कर्तव्य र जिम्मेवारी भएको बताउँदै यसको रोकथामका लागि स्थानीय सरकार, प्रहरी, विद्यालय, अभिभावक, युवा तथा समुदायबीच सहकार्य हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, झापाको तर्फबाट लागूऔषधको दुरुपयोगले व्यक्ति, परिवार तथा समाजमा पार्ने नकारात्मक प्रभावबारे जानकारी दिने सचेतनामूलक लघु वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो।
लागूऔषध दुर्व्यसनविरुद्धको अभियानलाई विद्यालय तथा समुदायस्तरसम्म पुर्याई युवा पुस्तालाई सचेत बनाउने र स्वस्थ, सुरक्षित तथा दुर्व्यसनमुक्त समाज निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको सञ्चालन हल्दीबारी गाउँपालिकाको सामाजिक विकास शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए ।
प्रतिक्रिया 0