दमक। 

आदिवासी जनजाति नेत्रहीन संघ झापाद्वारा आयोजित वृहत् जनचेतनामूलक सांस्कृतिक कार्यक्रम झापाको दमकस्थित कनकाई पार्टी प्यालेसमा सम्पन्न भएको छ। संघका अध्यक्ष भोजकुमार तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशसभा सदस्य माननीय विद्या चाम्लिङ प्रमुख अतिथि तथा वरिष्ठ गायक शम्भु राई र साहित्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएका नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति भूपाल राई विशिष्ट अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा साहित्यप्रेमी, स्थानीय स्रष्टा तथा कलाकारहरूको समेत सौहार्दपूर्ण उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चाम्लिङले दृष्टिविहीन व्यक्तिहरूले सम्मानपूर्वक बाँच्न पाउने अधिकार राज्यले सुनिश्चित गर्नुपर्ने र उनीहरूलाई स्नातक तहसम्म निःशुल्क अध्ययनको व्यवस्था गरिनुपर्ने बताए। उनले दृष्टिविहीन समुदायका अधिकार र आवश्यकताका विषयलाई प्रदेशसभामा सशक्त रूपमा उठाउने तथा तिनको कार्यान्वयनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

सोही अवसरमा दृष्टिविहीनहरूको स्नातक तहसम्मको अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले स्थापना गरिएको अक्षयकोषमा प्रमुख अतिथि चाम्लिङले रु. १० हजार १०५ प्रदान गरेका थिए । कार्यक्रममा साहित्य विधामा महत्त्वपूर्ण योगदान पुर्‍याएका नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति भूपाल राईलगायत स्थानीय स्रष्टा तथा कलाकारहरूलाई प्रमुख अतिथि चाम्लिङले ताम्रपत्रद्वारा सम्मान गरेकी थिइन् । 

कार्यक्रमको अन्त्यतिर वरिष्ठ गायक शम्भु राईले ‘चिठी तिमीलाई’ र ‘आलुदम चाना’ लगायत आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । उनको बेजोड सांगीतिक प्रस्तुतिसँगै कार्यक्रम उल्लासमय वातावरणमा सम्पन्न भएको थियो।