बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका भूगोलमा बसोबास गर्ने काफ्ले बन्धुहरुलाई अब रामप्रसाद काफ्लेको नेतृत्वमा बनेको कार्यसमितिले सहजीकरण गर्ने भएको छ ।

घटस्थापनाको अवसरमा आइतबार बिर्ताबजारमा आयोजित काफ्ले समाज बिर्तामोड नगर समितिको तेस्रो अधिवेशनले रामप्रसादको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

नगर कार्यसमितिका अध्यक्ष तुलसीराम काफ्लेको अध्यक्षता तथा काफ्ले समाजका केन्द्रीय सचिव गोपाल काफ्लेको प्रमुख आतिथ्यमा आयोजित नगर अधिवेशनबाट उपाध्यक्षमा टिकादेवी चापागाईं काफ्ले, सचिवमा डम्बरबिक्रम काफ्ले र सहसचिवमा नारायण काफ्ले सर्वसम्मत चयन भए ।

बिर्तामोडका १० वटै वडाको प्रतिनिधित्व रहने गरी छरितो टिम बनाउने प्रयास भए पनि सबै वडाबाट कार्यक्रममा सहभागिता नरहँदा उपस्थितहरुबाट नेतृत्व चयन गरिएको हो ।

कार्यसमितिको सदस्यमा कमला काफ्ले (वडा नं. १), गायत्रीप्रसाद काफ्ले र ईश्वरा काफ्ले (वडा नं. २), सरोज काफ्ले (वडा नं. ३), रोमनाथ काफ्ले (वडा नं. ४), प्रकाशमणि काफ्ले (वडा नं. ५), र टिकाराम काफ्ले (वडा नं. ९) सर्वसम्मत चयन भए ।

नवनिर्वाचित कार्यसमितिलाई काफ्ले समाजको विधान २०५९ को धारा ४० अनुसूची ५ अनुसारको सपथ केन्द्रीय उपाध्यक्ष तोयानाथ काफ्लेले गराए । तेस्रो साधारणसभा र अधिवेशनलाई प्रमुख अतिथि केन्द्रीय सचिव गोपाल काफ्ले, कोशी प्रदेश उपाध्यक्ष होमप्रसाद काफ्ले र झापा जिल्ला अध्यक्ष नारायणप्रसाद काफ्लेले सम्बोधन गरेका थिए ।

उक्त अवसरमा काफ्ले वंशावलीको दोस्रो संस्करणका लागि सबै परिवारबाट विवरण संकलन गर्ने, छोरी बुहारीहरुको नाम नामेसी नछुटाउने, २०६५ मा प्रकाशित वंशावलीमा त्रुटी रहेको भए सच्याउन सुझाव दिने विषयमा केन्द्रीय सचिव गोपाल काफ्लेले सबैलाई सचेत गराए ।

साधारण सभामा अध्यक्ष तुलसीराम काफ्लेको प्रतिवेदन सचिव डम्बरबिक्रम काफ्लेले वाचन गरेका थिए भने सहभागीहरुले उक्त प्रतिवेदन सुझावसहित पारित गरेका थिए । 

कार्यक्रममा सहभागीहरुलाई जिल्ला सदस्य तथा नगर संयोजक दुर्गा काफ्लेले शाब्दिक स्वागत गरेका थिए । दशैंको सन्दर्भमा आयोजित उक्त साधारण सभामा शुभकामना आदान प्रदान गरिएको थियो ।