झापा । 

 स्क्रब टाइफसको संक्रमण देशभर फैलिएको छ । देशका ७४ जिल्लामा संक्रमण फैलिइसकेको स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । हालसम्म १० हजार २१० जनामा संक्रमण पुष्टि भइसकेको छ । 

डोल्पा, मनाङ र मुगुबाहेक सबै जिल्लामा संक्रमण देखिएको हो । संक्रमणबाट सातजनाको मृत्यु पुष्टि भएको छ । २२ जनाको मृत्यु रिपोर्ट भएकोमा बाँकी १५ जनाको मृत्यु स्क्रब टाइफसकै कारण भए–नभएको प्रमाणीकरण भइरहेको छ । यसले संक्रमितको संख्या र मृत्युको वास्तविक आँकडा अझै नआएको देखाउँछ । 

स्क्रब टाइफसको सुरुवाती लक्षण सामान्य ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने र कमजोरी हुने हुन्छ । त्यसैले धेरैले यसलाई मौसमी ज्वरो ठानेर घरमै औषधि खाने गर्छन् । सामान्य ज्वरो ठानेर घरमै बस्ने प्रवृत्तिले स्वास्थ्य संस्था पुग्न ढिलाइ हुँदा संक्रमण फैलिन सक्छ ।

समयमै पहिचान र उपचार नहुँदा संक्रमणले फोक्सो, मिर्गौलालगायत महत्त्वपूर्ण अंगमा असर पु¥याउन सक्छ । ग्रामीण क्षेत्रमा ज्वरो आएपछि तत्काल परीक्षण नगरी घरमै औषधि सेवन गर्ने प्रवृत्तिले रोग देशभर फैलिएको चिकित्सकको दाबी छ ।  

संक्रमित माइटको टोकाइबाट मानिसमा सर्ने यो रोग वर्षायाम र त्यसपछिको समयमा बढी देखिन्छ । खेतबारी, झाडी तथा घाँसमा काम गर्ने मानिसमा यसको जोखिम बढी हुन्छ । तर संक्रमण ग्रामीण क्षेत्रमा मात्र सीमित नरहेकाले जोखिमलाई निश्चित भूगोलसँग मात्र जोडेर हेर्न नसकिने स्वास्थ्य शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका संक्रामकरोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । 

यस वर्ष पछिल्ला महिनामा संक्रमणको गति थप तीव्र भएको तथ्यांकले देखाउँछ । जनवरीमा ३२६ संक्रमित भेटिएकामा अगस्टमा २ हजार ५७१ र सेप्टेम्बरमा २ हजार ८३३ जनामा संक्रमण पुष्टि भएको थियो । वर्षको पछिल्लो चरणमा संक्रमण उल्लेख्य रूपमा बढेको देखिन्छ । यही अवधिमा बिरामीमा जटिलता देखिने सम्भावना पनि बढ्ने भएकाले स्वास्थ्य संस्थालाई परीक्षण र उपचारका लागि तयार राख्नुपर्ने डा. पुनको भनाइ छ ।

सरकारले संक्रमण नियन्त्रणका लागि परीक्षण किट र औषधिको व्यवस्थापन गरिरहेको जनाएको छ । स्वास्थ्य सेवा विभागमा थप परीक्षण किट मौज्दात राखिएको छ भने प्रभावित क्षेत्रमा आवश्यक औषधि पठाइएको छ । स्वास्थ्यकर्मीलाई रोग पहिचान तथा उपचारसम्बन्धी तालिमसमेत दिइएको छ ।