विराटनगर।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले सोमवार जिल्ला प्रहरी कार्यालय संखुवासभाको निरीक्षण भ्रमण तथा अनुगमन गरेका छन् । निरीक्षण भ्रमणको क्रममा उहाँले कार्यालय, सम्पूर्ण शाखाहरु लगायत हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिएका हुन् ।
उनले पहाडी भेगका दुर्गम गाउँ र बस्तीहरुमा रहेका नागरिकहरुलाई सहज र सुलभ तरिकाले प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका छन् । नियमितरुपमा प्रहरी गस्ती परिचालन गरी नागरिकको पिरमार्का तथा गुनासाहरुलाई सुनुवाई गर्न र समुदाय स्तरमा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरी नागरिकमा सचेतना अभिबृद्धि गर्न समेत निर्देशन दिए । यसैगरी उनले नजिकिदै गरेको चाडपर्वलाई सुरक्षित र हर्षोल्लासमय बनाउन आवश्यकता अनुसार प्रहरी जनशक्ति परिचालन गर्न, यात्रालाई सुरक्षित, सहज र व्यवस्थित बनाउन बसपार्कहरुमा यात्रु सहायता कक्ष सञ्चालन गर्न, संवेदनशील तथा बढी भीडभाड हुने क्षेत्रमा प्रहरीको उपस्थिति बढाउन निर्देशन दिए ।
प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति थप उत्तरदायी, अनुशासित र सेवामुखी भएर कार्य गर्न, कार्यसम्पादन सम्झौता तथा अटोमेसनमा उल्लेखित बुँदाहरूमा केन्द्रित रहि प्रहरी कार्य गर्न, प्रहरी संगठनप्रतिको नागरिकको विश्वास कायम राख्न, व्यावसायिक आचरण र पारदर्शी सेवा प्रवाहमा विशेष ध्यान दिन साथै फरार प्रतिवादी पक्राउ, पेण्डिङ मुद्धाको फर्छौट तथा बढ्दै गएको लागू औषधको प्रयोग तथा ओसारपसारलाई नियन्त्रण गर्न निर्देशन दिएका छन् ।
वर्तमान समयमा समाजमा बढ्दै गएका अपराध तथा सुरक्षा चुनौतीहरूलाई न्यूनीकरण गर्न पूर्व प्रहरी कर्मचारीहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेकोले अपराध नियन्त्रणका लागि आवश्यक सूचना आदान प्रदानमा सहयोग पुग्नेमा आफु विश्वस्त रहेको बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय संखुवासभाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले जिल्लाको समग्र शान्ति सुरक्षाको बारेमा अवगत गराएका थिए ।
प्रतिक्रिया 0