झापा । 

हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव परेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको असर छ ।  कोशी, मधेस र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

हाल देशका हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि साधारणतया बादल लागेको महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेशका तराई भूभागमा आंशिक बदली रहे पनि बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशका थोरै स्थान र बागमती तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

सोमबार देशका विभिन्न भूभागमा मौसम बदली भई वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिमका पहाडी भू(भागमा साधारणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिमका हिमाली भूभाग एवं देशका तराई क्षेत्रमा भने आंशिक बादल लाग्ने अनुमान गरिएको छ ।

दिउँसो र रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू(भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्छ । ती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षाको आकलन गरिएको छ । मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।