बुद्धशान्ति ।
बुद्धशान्ति प्रेस क्लब झापाले दसैँको अवसरमा पत्रकार तथा सञ्चारकर्मीबीच आपसी सद्भाव, एकता र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागेको दोस्रो संस्करणको बुद्धशान्ति १ झापा मिडिया कप–२०८३ को तयारीबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ।
शनिबार बुद्ध आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित पत्रकार सम्मेलनमा खेल संयोजक नारायण अर्यालले आगामी असोज २४ र २५ गते बुद्धशान्ति–१, बुधबारेस्थित बुद्ध आदर्श माविको खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए।
प्रेस क्लबका अध्यक्ष तीर्थ तिम्सिनाका अनुसार प्रतियोगितामा झापाका विभिन्न पालिकास्तरमा रहेका प्रेस क्लबका टोलीहरूको सहभागिता रहनेछ। उनले अघिल्लो संस्करणको तुलनामा यस वर्ष पुरस्कार राशिसमेत वृद्धि गरिने जानकारी दिए।
पहिलो संस्करणमा विजेता टोलीले २५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने उपविजेता टोलीलाई १५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। यस वर्ष पनि बुद्धशान्ति गाउँपालिका–१ मुख्य प्रायोजक रहने भएको छ।
पत्रकार सम्मेलनमा बुद्धशान्ति गाउँपालिका–१ का वडाध्यक्ष अनिल वाग्ले, नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाका पूर्वअध्यक्ष आनन्द गौतम, वरिष्ठ पत्रकार गणेशमान मुखियालगायतले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका थिए।
प्रेस क्लबका अध्यक्ष तीर्थ तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तथा खेल संयोजक नारायण अर्यालले प्रतियोगिताको तयारी तथा खेलसम्बन्धी विषयमा जानकारी दिएका थिए। कार्यक्रमको सञ्चालन क्लबका सचिव रोशन भट्टराईले गरेका थिए।
आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख २० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
प्रतिक्रिया 0