अर्जुनधारा । 

सालबारी मिलडाँडा युवा परिवारको आयोजनामा शनिबारदेखि सुरु भएको प्रथम सालबारी–मिलडाँडा पुरुष नकआउट भेट्रान्स फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झिलझिले भेट्रान्स फुटबल क्लबले शानदार जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ।स्थानीय देउनिया खेलमैदानमा भएको खेलमा झिलझिले भेट्रान्सले ज्ञानेचोक भेट्रान्स फुटबल क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको हो।

झिलझिलेको जितमा प्रकाश शेर्माले खेलको २०औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि कप्तान जसु राईले २५औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए। श्यामबहादुर लिम्बूले ३५औँ मिनेटमा गोल गरेपछि झिलझिले ३–० ले अघि बढ्यो। कप्तान जसु राईले नै ५६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–० को सहज जित दिलाए।

खेलभर झिलझिले भेट्रान्सले बलमाथि राम्रो नियन्त्रण राख्दै आक्रामक खेल प्रदर्शन गरेको थियो। ज्ञानेचोकले विपक्षीको गोलपोस्टमा केही राम्रा अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा गोल गर्न सकेन। खेलको प्लेयर अफ द म्याच झिलझिले भेट्रान्सका कप्तान जसुराई घोषित भए। उनले नगद ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

प्रतियोगिताको उद्घाटन अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले गरेका थिए। आयोजक समितिका संयोजक नन्दलाल खतिवडाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा कोषाध्यक्ष किरण जवेगुले स्वागत गरेका थिए।

कार्यक्रममा अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले खेलकुद क्षेत्रमा अर्जुनधारा नगरपालिका अब्बल रहेको बताइन्। खेलाडी तथा अफिसियलको योगदानका कारण नगरको गरिमा खेलकुदमार्फत अझ उचाइमा पुगेको उनको भनाइ थियो।

यसैगरी, सहआयोजक रहेको अर्जुनधारा ११ का वडाध्यक्ष खगेन्द्र इङनामले प्रतियोगिताको अौचित्यमाथि प्रकाश पार्दै आफ्ना भनाइ राखेका थिए । प्रतियोगिताअन्तर्गत आइतबार आयोजक मिलडाँडा भेट्रान्स र चन्द्रगढी भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ। त्यसअघि नेपाल पुलिस झापा र शनिश्चरे एफसीबीच मैत्रीपूर्ण खेल हुनेछ ।