हल्दीबारी ।

युवापुस्तालाई लागूऔषध दुर्व्यसनको जोखिमबाट जोगाउँदै स्वस्थ, सभ्य र जिम्मेवार समाज निर्माण गर्ने उद्देश्यले चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजले लागूऔषधविरुद्ध सचेतनामूलक अभियान सञ्चालन गरेको छ।

पूर्व विद्यार्थी समाजको आयोजना तथा चेतना नेपालको सहकार्यमा शनिबार सम्पन्न एकदिवसीय कार्यक्रममा हल्दिबारीका तीन सामुदायिक र एक संस्थागत विद्यालयका ६० जना विद्यार्थी सहभागी भएका थिए। कार्यक्रममा विद्यार्थीलाई लागूऔषधको प्रयोगबाट हुने स्वास्थ्य, पारिवारिक, सामाजिक तथा कानुनी असरबारे जानकारी गराउँदै दुर्व्यसनबाट टाढा रहन सचेत गराइएको थियो।

चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रिन्सिपल दुर्गामणि गौतमले दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै पूर्व विद्यार्थी समाजका अध्यक्ष अभिषेक खतिवडाले युवा विद्यार्थी समाजका भावी कर्णधार भएकाले उनीहरूलाई सही समयमा सही चेतना र सकारात्मक दिशा प्रदान गर्नु आवश्यक रहेको बताए। उनले लागूऔषधको प्रयोगले व्यक्तिको स्वास्थ्यमा मात्र नभई परिवार, शिक्षा, सामाजिक सम्बन्ध र समग्र भविष्यमा समेत गम्भीर असर पार्न सक्ने भएकाले रोकथामका लागि विद्यालय, परिवार, समुदाय र युवाहरूको संयुक्त भूमिका आवश्यक रहेको बताए ।

“पूर्व विद्यार्थी समाजको जिम्मेवारी विद्यालयसँगको सम्बन्धमा मात्र सीमित हुँदैन। आफू हुर्किएको समुदायका सामाजिक समस्यालाई पहिचान गर्दै समाधानको अभियानमा जोडिनु पनि हाम्रो दायित्व हो,” खतिवडाले भने ।  उनका अनुसार कार्यक्रममार्फत विद्यार्थीलाई लागूऔषधको जोखिमबारे जानकारी दिनुका साथै उनीहरूमा आत्मअनुशासन, सकारात्मक सोच र सामाजिक उत्तरदायित्वको भावना विकास गराउने प्रयास गरिएको हो।

लागूऔषधको असरदेखि कानुनी व्यवस्थासम्म प्रशिक्षण

कार्यक्रममा चेतना नेपालका अध्यक्ष तथा प्रशिक्षक इन्द्र ओलीले लागूऔषधको असर, यसको प्रयोगबाट हुने हानिनोक्सानी, कानुनी व्यवस्था तथा लागूऔषध प्रयोगसम्बन्धी तथ्यांकका विषयमा विद्यार्थीलाई प्रशिक्षण दिएका थिए । 

प्रशिक्षणका क्रममा लागूऔषधले व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्यमा पार्ने असर, पारिवारिक सम्बन्धमा ल्याउने समस्या, अध्ययन तथा भविष्यमा पार्न सक्ने नकारात्मक प्रभाव र सामाजिक क्षतिबारे विद्यार्थीलाई जानकारी गराइएको थियो।

युवाहरू लागूऔषधको प्रयोगतर्फ आकर्षित हुन सक्ने सम्भावित कारण, त्यसबाट बच्ने उपाय तथा साथीभाइलाई समेत दुर्व्यसनबाट टाढा राख्न सकिने भूमिकाबारे समेत प्रशिक्षणमा चर्चा गरिएको थियो।

६० विद्यार्थीको ‘लागूऔषधमुक्त समाज’ संकल्प

कार्यक्रमको महत्वपूर्ण पक्षका रूपमा सहभागी ६० विद्यार्थीले ‘लागूऔषधमुक्त समाज निर्माण’ को संकल्पसहित प्रतिबद्धता तालिकामा हस्ताक्षर गरेका थिए। विद्यार्थीहरूले आफू लागूऔषधबाट टाढा रहने, साथीभाइ तथा समुदायमा समेत यसको नकारात्मक असरबारे सचेतना फैलाउने र स्वस्थ तथा सकारात्मक जीवनशैली अपनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा सहभागी चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयकी विद्यार्थी जेनिसा भण्डारीले कार्यक्रम विद्यार्थीका लागि नयाँ ज्ञान र अनुभव हासिल गर्ने महत्वपूर्ण अवसर बनेको बताइन्। उनका अनुसार लागूऔषधले व्यक्ति र परिवारमा पार्ने असरबारे यसअघि भन्दा थप स्पष्ट जानकारी प्राप्त भएको र आफूहरूलाई सचेत रहन कार्यक्रमले प्रेरित गरेको थियो।

पूर्व विद्यार्थीको सामाजिक उत्तरदायित्वमा जोड

कार्यक्रममा पञ्चायत माध्यमिक विद्यालय, लक्ष्मी माध्यमिक विद्यालय, रामेश्वर आधारभूत विद्यालय र चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयका शिक्षक प्रतिनिधिहरू कमला बिष्ट आचार्य, अर्चना बोहोरा, हरिमाया मिश्र र कमल पौडेललगायतको उपस्थिति थियो।त्यस्तै चेतना नेपालका जनसम्पर्क प्रमुख प्रेम सेढाई, सामाजिक व्यक्तित्व प्रेम न्यौपाने, सन्तोषकुमार मेचे, स्टुडेन्ट क्रिएटिभ फोरमकी अध्यक्ष पूजा रेग्मी, पूर्व विद्यार्थी समाजका पदाधिकारी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

सामाजिक व्यक्तित्व प्रेम न्यौपाने र सन्तोषकुमार मेचेले लागूऔषध दुर्व्यसन न्यूनीकरणका लागि पूर्व विद्यार्थी समाजले सुरु गरेको अभियानलाई सकारात्मक सामाजिक पहलका रूपमा लिनुपर्ने बताए। उनीहरूले पूर्व विद्यार्थीहरू आफ्नो विद्यालयसँगको सम्बन्धलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै समुदायका महत्वपूर्ण विषयमा सक्रिय हुनु सकारात्मक अभ्यास भएको उल्लेख गर्दै अभियानलाई निरन्तरता दिन सुझाव दिए ।

‘शिक्षित हुनुको अर्थ समाजप्रति जिम्मेवार हुनु पनि हो’

कार्यक्रमका प्रमुख अतिथि चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रिन्सिपल दुर्गामणि गौतमले पूर्व विद्यार्थी समाजले आयोजना गरेको सचेतनामूलक कार्यक्रमको प्रशंसा गरे । उनले विद्यालयबाट प्राप्त ज्ञान र शिक्षालाई समाजको हितमा प्रयोग गर्नु पूर्व विद्यार्थीको महत्वपूर्ण दायित्व भएको बताउँदै लागूऔषधजस्तो सामाजिक समस्याविरुद्ध सचेतना फैलाउने अभियानमा विद्यार्थी र पूर्व विद्यार्थीको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । उनका अनुसार शिक्षित हुनु केवल व्यक्तिगत सफलता हासिल गर्नु मात्र नभई समाजप्रति जिम्मेवार र उत्तरदायी बन्नु पनि हो।

चेतना नेपाललाई सम्मान

सोही अवसरमा समुदायमा लागूऔषध दुर्व्यसन न्यूनीकरण तथा सचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको चेतना नेपाललाई चिल्ड्रेन गार्डेन पूर्व विद्यार्थी समाजले सम्मानस्वरूप प्रमाणपत्र प्रदान गरेको थियो। लागूऔषधविरुद्धको सचेतना, रोकथाम र सामाजिक जागरणका क्षेत्रमा संस्थाले गर्दै आएको योगदानको कदरस्वरूप प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

पूर्व विद्यार्थी समाजले विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै शिक्षा, स्वास्थ्य, सामाजिक चेतना तथा समुदायसँग सम्बन्धित विषयमा आगामी दिनमा पनि विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

पूर्व विद्यार्थी समाजका अध्यक्ष अभिषेक खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तथा सहजीकरण पूर्व विद्यार्थी दिपिका कार्कीले गरेका थिए ।