अर्जुनधारा । 

सालबारी–मिलडाँडा युवा परिवार अर्जुनधारा–११ को आयोजनामा प्रथम सालबारी–मिलडाँडा पुरुष भेट्रान्स फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ।

अर्जुनधारा–११ स्थित देउनिया खेलमैदानमा हुने प्रतियोगितामा ८ वटा भेट्रान्स टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताको उद्घाटन खेलमा ज्ञानेचोक भेट्रान्स पृथ्वीनगर र झिलझिले भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ।

असोज २४ गते हुने फाइनल खेलको विजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ३१ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी पाउनेछ।

त्यस्तै, प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई नगद २ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ। विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही नगद ३ हजार ५ सय रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख ९० हजार २ सय २२ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

खेलकुद क्षेत्रमा सक्रिय भेट्रान्स खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीयस्तरमा फुटबलको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक नन्दलाल खतिवडाले बताए।