भद्रपुर ।
जिल्ला प्रशासन कार्यालय झापाले जेन-जी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूको प्रोफाइल तयार गर्ने कार्य शुरु गरेको छ । नेपाल सरकार, मन्त्रिपरिषद्बाट २०८३/०३/१८ मा स्वीकृत “जेन–जी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूको लागि पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेज“ मा समावेश भएका २४ वटा बुँदाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहिद परिवार तथा घाइतेहरूको जिल्लागत प्रोफाइल तयार गर्ने कार्य प्रारम्भ गरेको हो ।
जिल्लामा शहिद परिवार दुई र हालसम्म सम्पर्कमा आएका ४० जना घाइतेहरु रहेका छन् । जस मध्ये ३७ जनाले घाइते परिचय पत्र प्राप्त गरिकेका जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । ती मध्ये स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयवाट घाइतेको अवस्था अनुसार २८ जनाको बर्गिकरण भइसकेको छ ।
सरकारले घोषणा गरेको निःशुल्क स्वास्थ्य उपचार, निःशुल्क शिक्षा, रोजगारी लगायतका एकीकृत राहत प्याकेजलाई घाइते तथा शहिद परिवारको वास्तविक माग र आवश्यकतासँग जोड्न आवश्यक सूचना स्रोतको रुपमा रहने गरी प्रोफाइल तयार गरिने छ । अनलाइन फारममार्फत जेन–जी शहिद परिवार तथा घाइतेहरुको मुख्यतया व्यक्तिगत विवरण, घटना सम्बन्धी विवरण, आर्थिक तथा सामाजिक अवस्था र सरकारसँगको अपेक्षालाई समेटेर निर्माण गरिनेछ ।
उक्त प्रोफाइलमा आफ्ना विवरण अध्यावधिक गर्न सम्बन्धित शहिद परिवार र घाइतेलाई अनुरोध गरिसकिएको छ । प्रोफाइल तयार भइसकेपछि सहिद परिवार तथा घाइतेहरूको अवस्था र अपेक्षालाई सरकारको एकीकृत राहत प्याकेजसँग प्रत्यक्ष रूपमा जोड्न र अन्तरनिकाय समन्वयलाई थप प्रभावकारी बनाउँदै राहत प्याकेज कार्यान्वयनमा प्रभावकारीता ल्याउनमहत्वपूुर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।
प्रोफाइल तयार गर्ने कार्यमा आवश्यक समन्वय र सहजीकरणका लागि हालसम्म सम्पर्कमा नआएका जेन–जी आन्दोलनका घाइतेहरूलाई यथाशीघ्र कार्यालयमा सम्पर्क गर्न शुक्रवार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले एक सूचना जारी गर्दै अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया 0