बिर्तामोड ।
वीरता जेसिज सप्ताह–२०२६ अन्तर्गत ‘Together We Can’ अर्थात् ‘एकतामा शक्ति, सहकार्यमा सफलता’ विषयक अन्तर ं२ तथा कलेजस्तरीय वक्तृत्वकला प्रतियोगिता बुधबार निधि इन्द्रेणी क्याम्पस, बिर्तामोड, झापामा सम्पन्न भएको छ।
वीरता जेसिज वर्ष २०२६ का अध्यक्ष जेसी लोकचन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तथा वीरता जेसिजका पूर्वअध्यक्ष एकराज गिरी प्रमुख अतिथि थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि गिरीले यस्ता प्रतियोगिताले युवाहरूमा वक्तृत्वकला, आत्मविश्वास र व्यक्तित्व विकासमा टेवा पुर्याउनुका साथै नेतृत्व क्षमता विकासका लागि आधार तयार गर्ने बताए।
कार्यक्रमको अध्यक्षता गरेका जेसी लोकचन्द्र श्रेष्ठले वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्ना विचार स्पष्ट रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने बताए। उनले युवाहरूमा संवाद, सहकार्य र नेतृत्वसम्बन्धी सीप विकास गर्न यस्ता कार्यक्रम उपयोगी हुने उल्लेख गरे।प्रतियोगितामा विभिन्न विद्यालय तथा शैक्षिक संस्थाबाट सहभागी विद्यार्थीहरूले ‘एकतामा शक्ति, सहकार्यमा सफलता’ विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए। प्रतियोगिताका निर्णायकमा नेल्टा झापाका संस्थापक अध्यक्ष धर्मेन्द्र भट्टराई र नेपाल जेसिजकी पूर्व राष्ट्रिय उपाध्यक्ष जेसी स्वस्तिका आचार्य रहेका थिए।
प्रतियोगितामा कञ्चनजङ्घा नमुना सेकेन्डरी स्कुल, बिर्तामोडकी शिवानी कार्की प्रथम,निदि सेकेन्डरी स्कुल बिर्तामोडकी एलिजा भट्टराई द्वितीय, झापा मेरी गोल्ड सेकेन्डरी स्कुल, सुरुङ्गाकी अङ्किता खनाल तृतीय तथा महेन्द्र रत्न माध्यमिक विद्यालय, अनारमनीकी स्मृति आचार्य सान्त्वना भएकी छन्।
प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने सहभागी सम्पूर्ण विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष जीवन खड्का, निजी सेकेन्डरी स्कुलका प्रिन्सिपल भीष्म प्रसाईँ, क्रिएटिभ इङ्लिस स्कुलका संस्थापक मोहम्मद एहेजाज अन्सारी, वीरता जेसिजका पूर्वअध्यक्ष विकास बस्नेत तथा माछा व्यवसाय संघ झापाका अध्यक्ष अर्जुन सहनीलगायतको उपस्थिति थियो।
कार्यक्रमको संयोजन तथा स्वागत मन्तव्य सह–कोषाध्यक्ष जेसी अभिषेक गहतराजले गरेका थिए। आस्थावाचन कोषाध्यक्ष जेसी अमरजित शाहले गरेका थिए भने कार्यक्रम सञ्चालन महासचिव जेसी सुवास तीखत्रीले गरेका थिए। कार्यक्रमको समापन कानुनी सल्लाहकार जेसी प्रभात मास्केले धन्यवाद ज्ञापन गर्दै गरेका थिए।


















