बिर्तामोड ।
बिर्तामोडमा आजदेखि सामुदायिक तथा घरपालुवा कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप निःशुल्क लगाउन सुरु गरिएको छ। विश्व रेबिज दिवसको अवसरमा बिर्तामोड नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईँले प्राविधिकलाई भ्याक्सिन क्यारियर हस्तान्तरण गरेर अभियानको उद्घाटन गरेकी हुन् ।
आजदेखि सुरु भएको खोप अभियान असोज २१ गतेसम्म नगरका सबै वडामा सञ्चालन हुनेछ। तालिकाअनुसार भोलि वडा नम्बर १० का विभिन्न क्षेत्रमा कुकुर तथा बिरालोलाई खोप लगाइने जनाइएको छ। यस वर्ष २ हजार सामुदायिक कुकुर तथा बिरालोलाई रेबिजविरुद्धको खोप लगाउने लक्ष्य रहेको शाखा प्रमुख डा. नगेन्द्र खड्काले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईँले आफूले पालेका कुकुर तथा बिरालोलाई खोप लगाई सेवाको लाभ लिन तथा छरछिमेकीलाई समेत यसबारे जानकारी गराउन सबैलाई आग्रह गरिन् ।
रेबिज संक्रमित कुकुरको टोकाइबाट नगरका विभिन्न वडामा घरपालुवा जनावरको समेत मृत्यु हुने गरेको भन्दै नगरपालिकाले हरेक वर्ष रेबिजविरुद्धको खोप अभियानकारुपमा सञ्चालन गर्दै आएको छ। कार्यक्रममा कार्यपालिका सदस्य संगिता शिवा, वडा नम्बर ४ का वडासदस्य उमेश राउतलगायतको उपस्थिति रहेको थियो।


















