झापा । 

मलेसियाले नेपाली श्रमिक भर्नाका लागि सूचीकृत गरेका २ सय ७५ म्यानपावरमाथि नेपाल सरकारले छानबिन गरिरहेको छ । मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा सूचीकृत २५ ‘प्रिन्सिपल एजेन्सी’ र ती मातहत काम गर्ने २ सय ५० ‘सपोर्ट एजेन्सी’ माथि वैदेशिक रोजगार विभागले छानबिन गरिरहेको हो ।

विभागले २५ मुख्य संस्थाको कारोबार, छनोटको आधार, मलेसिया रोजगारीमा विगतको संलग्नता र अन्य संस्था आबद्ध गराउँदा अपनाइएको प्रक्रियाबारे अध्ययन गरिरहेको हो । त्यस्तै २ सय ५० संस्थासँग एफडब्लूसीएमएसमा आबद्ध हुनुका आधार, अपनाइएको प्रक्रिया तथा मुख्य संस्थासँगको सम्बन्धबारे स्पष्टीकरण मागेको थियो । छानबिन पूरा नहुँदासम्म ती संस्थाले मलेसियाका लागि नयाँ पूर्वस्वीकृति लिन पाउने छैनन् ।

वैदेशिक रोजगार विभागले मलेसिया रोजगारी क्रममा सिन्डिकेट निर्माण गरी प्रतिस्पर्धालाई संकुचित पार्न खोज्ने २५ र २ सय ५० म्यानपावर व्यवसायीमाथिको कारबाही प्रक्रिया तीव्र बनाएको छ । विभागका महानिर्देशक नवराज ढकालले वैदेशिक रोजगार ऐन तथा नियमावली प्रावधान अनुसार कानुनी दायरामा ल्याउन ती व्यवसायीलाई स्पष्टीकरण सोध्ने तथा आवश्यक छानबिन गर्ने काम भइरहेको बताएका छन् ।

२ सय ५० म्यानपावर व्यवसायीले स्पष्टीकरण बुझाइसकेका छन् । यसका लागि उनीहरूलाई १५ दिनको समय दिइएको थियो । स्पष्टीकरणमा कतिपय व्यवसायीले आफूहरू उक्त प्रक्रियामा सहभागी नभएको र नाम कसरी आयो भन्ने जानकारी नभएको उल्लेख गरेका छन् । २ सय ५० म्यानपावरलाई सोधिएको स्पष्टीकरणको जवाफ लगभग सबैबाट प्राप्त भइसकेको छ । प्राप्त जवाफ अध्ययन गरेर वैदेशिक रोजगार ऐन, नियम तथा नियमावली अनुसार आवश्यक कारबाही अघि बढाइने उनले बताए ।