बिर्तामोड ।
नेपालकै सवै भन्दा ठूलो सहकारी झापाकै गौरवका रुपमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको निर्वाचन धमाधम भइरहेको छ । झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको संस्थाको सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन भएको हो ।
आज (शनिवार) बिहान ८ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । ७० मतदान स्थल तथा १४७ बुथ अन्तरगत मतदान भइरहेको बताइएको छ । नौ जना सञ्चालक समिति र तीन जना लेखा सुपरिवेक्षण गरी जम्मा १२ पदका लागि बिभिन्न पदहरुमा ४५ जनाले उम्मेद्वारी दिएका छन् ।
६ वटा जिल्ला कार्य क्षेत्र रहेकोे संस्थामा एक लाख ९७ हजार ५५२ जना मतदाता रहेका छन् भने ८० वटा सेवा केन्द्रमार्फत कारोबार भइरहेको छ । सफा मौसमका कारण सवै मतदान केन्द्रहरुमा शान्त तथा उत्साहजनक रुपमा मतदान भइरहेको निर्वाचन समिति सदस्य सचिव दिनेशबहादुर निरौलालले जानकारी दिए ।


















