बिर्तामोड ।
बिर्तामोड नगरपालिकामा जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्ध ६० हजारभन्दा बढी नागरिकलाई खोप दिइने भएको छ। असोज ९ देखि १५ गतेसम्म नगरपालिकाका १० वटै वडामा ३० वर्षमाथिका नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन गर्न लागिएको हो।
खोप सञ्चालनका लागि नगरपालिकाले ५६ वटा खोप केन्द्र निर्धारण गरेर ३० जना स्वास्थ्यकर्मी खटाएको फोकल पर्सन जनस्वास्थ्य निरीक्षक गणेश रिजालले जानकारी दिए। उनका अनुसार स्वास्थ्यकर्मी, शिक्षक, स्वयंसेवक, नगरस्तरीय खोप समन्वय समिति र वडास्तरीय रूपमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईले तोकिएको अवधिमा पायक पर्ने स्थानमा गएर खोप लगाउन सबैलाई आग्रह गरिन् । झापामा हालसम्म १३ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा बिर्तामोडका १ जनासहित ७ जनाको मृत्यु भइसकेको छ। गर्भवती तथा एलर्जीको समस्या भएका व्यक्तिहरूले यो खोप लगाउन नमिल्ने स्वास्थ्य कार्यालय झापाका प्रमुख बृजकुमार दासले जानकारी दिए।
झापाका विभिन्न पालिकामा यो खोप अभियान निःशुल्करुपमा असोज ५ गतेदेखि नै सुरु भएको छ। जिल्लाका १३१ वडामा ९०० खोप केन्द्र स्थापना गरी खोप सेवा सञ्चालन हुँदैछ।

















