लक्ष्मीपुर । 

भरतकुमार गिरी आफ्ना मुख्य सात बुँदे प्रतिवद्धतासहित चुनावी मैदानमा उत्रिएका छन् । गिरी भन्छन् ‘निर्वाचन मात्र जित्न होइन, सदस्यको विश्वास पनि जित्न अध्यक्ष पदमा उम्मेद्वारी दिएको हुँ !’ 

सहकारीको विश्व बिद्यालयका रुपमा परिचित देशकै सहकारी मध्ये सवै भन्दा ठूलो सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको असोज १० गते हुने सञ्चालक समितिको अध्यक्ष पदमा उम्मेद्वारी मनोनयन दर्तासँगै गिरी हाल चुनावी मैदानमा छन् । 

“सशक्त सदस्य, समृद्ध सहकारी’’ भन्ने मुल नाराका साथ गिरीले मुख्य सात बुँदे प्रतिवद्धता अघि सारेका छन् । उनका मुख्य प्रतिवद्धताहरुमा सदस्यलाई चाहिएको नेतृत्व–तपाईको आफ्नो मान्छे, कुर्सी होइन, सदस्यको समस्या मेरो प्राथमिकता, सदस्यको एक मत, सदस्यको सुखमा साथ, दुःखमा हात–यही हो मेरो प्रतिबद्धता, भोट माग्न होइन, सदस्यको आवाज बन्न आएको हुँ, सहारा नेपाल साकोसमा सदस्यको सम्मान, सदस्यकै हितमा मेरो अभियान, बोलिभन्दा काम, आश्वासन भन्दा परिणाम र नयाँ सोच र सुदृढ सहकारी समृद्ध सदस्य र समृद्ध समाज छन् । 

गिरी आफ्नो नेतृत्वमा  छुट्टै प्यानल खडा गरेर संस्थाको निर्वाचनमा होमिएका हुन् । आफुले जीवनकालमा प्राप्त गरेको अनुभवलाई संस्थाको हितमा प्रयोग गर्ने उद्देश्यले उम्मेद्वारी दिएको बताउँछन् । गिरी स्थापनाकालदेखि नै संस्थामा आवद्ध रहेर हरेक गतिविधिमा सहभागी रहँदै संस्थाको उन्नती र प्रगतिमा सल्लाहसुझाव दिदै आएका छन् । 

गिरी नेतृत्वको प्यानलमा बरिष्ठ उपाध्यक्षमा ज्ञानुनाथ मैनाली, महिला उपाध्यक्षमा खिनमाया बस्नेत (सिता), कोषाध्यक्ष भोला धिताल  छन् भने सदस्यममा तीर्थराज सिग्देल, लालबहादुर गिरी, सुजन खरेल, तारा भट्टराई र रेनुका उप्रेती मैनाली रहेका छन् । यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा शंकर सुवेदी र सदस्यहरुमा नीरजकुमार ओली र शुक्रबहादुर ताामाङ रहेका छन् ।