बिर्तामोड । 

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले शैक्षिक परामर्श व्यवसायको संस्थागत सुदृढीकरण, व्यवसायिक अधिकारको संरक्षण, विद्यार्थी तथा अभिभावकको सुरक्षा र अन्तर्राष्ट्रिय शैक्षिक साझेदारी विस्तारलाई प्राथमिकतामा राख्दै ‘झापा घोषणापत्र २०८३’ जारी गरेको छ ।

झापाको बिर्तामोडमा सम्पन्न इक्यान लिडर्स मिट ३.० को समापनको अवसरमा १० बुदेँ घोषण पत्र जारी भएको हो । देशभरबाट सहभागी केन्द्रीय नेतृत्व, शाखा नेतृत्व, पूर्वअध्यक्ष, सल्लाहकार तथा सदस्यबीच भएको छलफल र विचार आदानप्रदानका आधारमा घोषणापत्र तयार गरिएको हो । घोषणापत्रले तत्कालीन व्यावसायिक समस्यालाई मात्र सम्बोधन नगरी आगामी दिनमा शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, जिम्मेवार र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउने दिशासमेत अघि सारेको आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाल शैक्षिक परामर्श संघका प्रथम उपाध्यक्ष बासुदेव दाहालले बताए । शैक्षिक परामर्श क्षेत्रका लागि व्यावसायिक अधिकारको संरक्षण, निष्पक्ष, पारदर्शी र व्यावहारिक नियमन, विद्यार्थी तथा अभिभावकको सुरक्षा, केन्द्रीय कार्यालय र शाखाबीच रणनीतिक एकता, अन्तर्राष्ट्रिय शिक्षा साझेदारीको विस्तार, संस्थागत क्षमता तथा विश्वसनीयताको विकास र दीर्घकालीन प्रभाव तथा जवाफदेहिताको सुनिश्चिततालाई आधारभूत प्रतिबद्धताका रूपमा अघि सारिएको उनको भनाई छ । 

इक्यानले शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापनसम्बन्धी नियमावली, २०८३ को कानुनी अस्तित्व र कार्यान्वयनलाई स्वीकार गरे पनि त्यसका केही प्रावधानप्रति असहमति जनाएको छ । घोषणापत्रमा अव्यावहारिक वा व्यवसायिक क्षेत्रमा असमान प्रभाव पार्ने प्रावधानप्रति प्रश्न उठाउँदै सम्बन्धित निकायसँग तथ्य, कानुनी आधार र व्यावसायिक प्रमाणसहित निरन्तर संवाद अघि बढाउने निर्णय भएको इक्यान केन्द्रका महासचिव भवनाथ हुँमागाईंले जानकारी दिए । कानुनी प्रावधानको विस्तृत समीक्षा, कानुनी विशेषज्ञको राय, धरौटी व्यवस्थाको आर्थिक प्रभावसम्बन्धी तथ्य तथा प्रमाण सङ्कलन र सम्बन्धित निकायसमक्ष लिखित माग तथा आपत्ति प्रस्तुत गर्ने योजना बनाइएको उनको भनाई छ । वार्ता र संवादबाट समाधान ननिस्किए उपलब्ध कानुनी उपचारका विकल्पको मूल्याङ्कन गरी आवश्यक प्रक्रिया अघि बढाउने घोषणापत्रमा उल्लेख छ । संस्थागत अधिकार र सदस्यहरूको व्यावसायिक हित संरक्षणका विषयमा भने सम्झौता नगर्ने इक्यानले स्पयट पारेको छ । 

शैक्षिक परामर्श क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउने नीतिप्रति पनि इक्यानले आफ्नो संस्थागत धारणा सार्वजनिक गरेको गर्दै नेपाली शैक्षिक परामर्श व्यवसायको स्वामित्व, सञ्चालन, नियमन र जवाफदेहिता नेपालमा स्थापित कानुनी तथा संस्थागत आधारभित्रै रहनुपर्ने घोषणापत्रमा उल्लेख इक्यान केन्द्रका निर्वतमान अध्यक्ष शेषराज भट्टराईले बताए । इक्यानले विदेशी लगानीको विषयलाई केवल व्यवसाय विस्तारको दृष्टिले नभई नेपाली शैक्षिक परामर्श व्यवसायको स्वायत्तता, संस्थागत संरचना र जवाफदेहितासँग जोडेर हेरेको निर्वतमान अध्यक्ष भट्टराईले बताए । अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा डिजिटल प्रविधि, एडटेक कम्पनी र अनलाइन सेवा प्रदायकको प्रभाव बढ्दै गएको अवस्थामा नेपालमा सेवा प्रदान गर्ने विदेशी डिजिटल प्लेटफर्मसमेत प्रचलित कानुन र नियामक मापदण्डको दायरामा आउनुपर्ने घोषणापत्रमा उल्लेख गरिएको पत्रकार सम्मेलनमा बताइएको छ । इक्यानले प्रविधि र नवप्रवर्तनको विरोध नगर्ने स्पष्ट गर्दै सेवा सञ्चालन तथा दर्ता, विद्यार्थी र उपभोक्ता संरक्षण, तथ्याङ्क सुरक्षा तथा गोपनीयता, सेवा शुल्कमा पारदर्शिता, कानुनी जवाफदेहिता र उल्लङ्घन भए उपयुक्त कारबाहीको व्यवस्था स्पष्ट हुनुपर्ने माग गरेको छ । कुनै डिजिटल प्लेटफर्मलाई स्वतः गैरकानुनी घोषणा नगरी सम्बन्धित कानुन र तथ्यका आधारमा त्यसको कानुनी हैसियत निर्धारण गर्नुपर्ने धारणा पनि घोषणापत्रमा छ ।

इक्यानको केन्द्रीय कार्यालय र शाखाबीचको सम्बन्धलाई प्रशासनिक समन्वयमा मात्र सीमित नराखी रणनीतिक सम्बन्धमा रूपान्तरण गर्ने अवधारणा घोषणापत्रमा अघि सारिएको छ । देशभरका शाखालाई संस्थाको समान उद्देश्य, नीति र दीर्घकालीन योजनासँग जोड्ने लक्ष्य राखेको  पत्रकार सम्मेलनमा बताइएको छ ।  संस्थागत एकता बलियो बनाउँदै शाखाको भूमिका थप प्रभावकारी बनाउने र केन्द्रीय संरचना तथा स्थानीय नेतृत्वबीच सहकार्य बढाउने घोषणापत्रको उद्देश्य रहेको निवर्तमान अध्यक्ष भट्टराईको भनाई छ । 

इक्यानले दूतावास, उच्चायोग, कूटनीतिक नियोग तथा शैक्षिक र सांस्कृतिक कार्यालयसँग नियमित र परिणाममुखी सम्बन्ध विस्तार गर्ने नीति पनि अघि सारेको छ । विद्यार्थीको विदेश अध्ययन, भिसा प्रक्रिया, छात्रवृत्ति, गन्तव्यसम्बन्धी सूचना तथा परामर्शका विषयमा कूटनीतिक निकायसँग संस्थागत संवाद बढाउने घोषणापत्रमा उल्लेख छ । यस क्रममा शाखाहरूको भूमिकासमेत सुनिश्चित गरिने निर्णय भएको जनाइएको छ । इक्यानले नेपाली विद्यार्थीलाई विदेश पठाउने परम्परागत भूमिकाभन्दा बाहिर निस्केर नेपाललाई समेत अन्तर्राष्ट्रिय विद्यार्थीका लागि शैक्षिक गन्तव्यका रूपमा विकास गर्ने सम्भावना खोज्ने जनाएको छ । कोशी प्रदेश पनि अन्तराष्ट्रिय विद्यार्थीको गन्तब्य बन्न सक्ने भएकाले पहिलो पटक कोशी प्रदेश अन्तरगत झापामा इक्यान लिडर्स मिट आयोजना गरिएको पत्रकार सम्मेलनमा बताइएको छ । घोषणापत्रमा ‘इनबाउन्ड एजुकेसन मोबिलिटी’ अर्थात् विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गर्ने अवधारणालाई संस्थागत रूपमा अघि बढाउने उल्लेख छ । अन्तर्राष्ट्रिय शैक्षिक साझेदारी विस्तार, विदेशी विद्यार्थी आकर्षण र नेपालमा अन्तर्राष्ट्रिय शिक्षा बजार विकासका सम्भावनामा काम गर्ने दिशालाई यसले समेटेको छ ।

झापा घोषणापत्रले इक्यान लिडर्स मिट ३.० मा प्रस्तुत ‘इक्यान भिजन २०३०’ लाई संस्थागत स्मृतिका रूपमा स्वीकार गर्दै आगामी यात्राको मार्गचित्र बनाउने घोषणा गरेको छ । भिजन २०३० मा प्रस्तुत दृष्टिकोण, मूल भावना र रणनीतिक प्राथमिकतालाई इक्यानका सबै शाखाले आत्मसात् गर्दै अघि बढाउने उल्लेख छ । साथै, अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा क्रियाशील संस्था लगायतका अन्तर्राष्ट्रिय सञ्जाल तथा नेपालका निजी क्षेत्रका संस्था, सञ्चारमाध्यम र कर्पोरेट संस्थासँग सहकार्य विस्तार गर्ने नीति पनि घोषणापत्रमा समेटिएको छ । घोषणापत्रले इक्यानलाई केवल विद्यार्थी विदेश पठाउने व्यवसायिक संस्था नभई नेपालको शैक्षिक परामर्श क्षेत्रको संस्थागत नेतृत्व गर्ने संरचनाका रूपमा विकास गर्ने दीर्घकालीन दृष्टिकोण अघि सारेको इक्यान केन्द्रका महासचिव हुँमागाईको भनाई छ । विद्यार्थी तथा अभिभावकको हित संरक्षण, व्यवसायिक अधिकार, पारदर्शी नियमन, संस्थागत जवाफदेहिता र अन्तर्राष्ट्रिय साझेदारीलाई समानान्तर रूपमा अघि बढाउने प्रतिबद्धतासहित जारी गरिएको झापा घोषणापत्रले अबको इक्यानको प्राथमिकता र कार्यदिशालाई सार्वजनिक गरेको बताइएको छ । असोज २ गतेबाट शुरु भएको इक्यान लिडर्स मिट ३.० आइतबार सम्पन्न भएको हो । इक्यान लिडर्स मिट सम्पन्न भए लगत्तै घोयाणा पत्रकार बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । नेपाल शैक्षिक परामर्श संघ इक्यान केन्द्रको आयोजना तथा इक्यान झापाको आतिथ्यमा सम्पन्न कार्यक्रममा देशभरका शाखा प्रमुखहरुको सहभागीता रहेको थियो । तीनदिन सम्म सञ्चालन भएको इक्यान लिडर्स मिटको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए । 

करिब एक सय ५० जना सहभागीहरुलाई इक्यानको नेतृत्व र नीतिका बारेमा जानकारी गराउँदै आगामी यात्राका बारेमा सुझाव संकलन गरेर घोषणा पत्र तयार गरिएको इक्यान झापाका अध्यक्ष राजकुमार कार्कीले जानकारी दिए । उनले इक्यान लिडर्स मिट सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।