झापा।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेता भनेर धम्क्याउँदै हिड्ने झापाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । झापाको हल्दीबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
विभिन्न सरकारी तथा राजनैतिक पदमा रहेको भनी परिचय दिँदै उनले सरकारी कार्यालय, बैठक तथा विभिन्न शैक्षिक संस्थाहरूमा प्रवेश गर्ने एवं दबाब तथा धाक धम्की दिने कार्य गर्दै आएका थिए ।
उनले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रहेको भनी झुठो परिचय दिने गरेका थिए । उनले दाबी गरेको पद तथा जिम्मेवारी वास्तविक नभएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
झापा जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरि उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विश्वकर्माले कसैलाई झुटो परिचय दिई कुनै प्रकारको लाभ लिएको वा कसैलाई हानि नोक्सानी पुऱ्याएको भएमा जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।


















