झापा । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियामा नेपाली श्रमिकको भर्नाका लागि त्यहाँको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस) मा नेपाली म्यानपावर कम्पनी छनोट प्रक्रियाबारे अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का कन्ट्री डाइरेक्टर नुमान ओज्कानको ध्यानाकर्षण गराएको छ । संघले सोमबार नेपालका लागि आइएलओका कन्ट्री डाइरेक्टर ओज्कानसँगको छलफल फलदायी रहेको जनाएको छ ।

संघले मलेसियाको एफडब्लुसिएमएसद्वारा प्रस्तावित प्रणाली, विशेषगरी इजाजतपत्र प्राप्त एजेन्सीहरूका लागि सीमित पहुँच, भेदभाव र असमान व्यवस्थाको प्रावधानबारे आफ्नो गम्भीर चिन्ता राखेको अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ले बताए ।

संघले नेपालबाट जाने आप्रवासी कामदारहरूको अधिकार र हितको संरक्षण गर्दै नेपाल र मलेसियाबीचको बलियो श्रम सम्बन्ध कायम गरी भर्ना तथा छनोटमा निष्पक्षता, पारदर्शिता, समान अवसर र नैतिक अभ्यासहरू सुनिश्चित गर्ने विषयमा जोड दिएको बताएको छ । निष्पक्ष, पारदर्शी र गैरभेदभावपूर्ण भर्ना प्रणालीलाई प्रवर्धन गर्न सबै सम्बन्धित सरोकारवालासँग रचनात्मक संवाद र सहकार्य गर्न प्रतिबद्ध रहेको भन्दै संघले मलेसियाको प्रस्तावित प्रणालीले इजाजतपत्र प्राप्त सीमित वैदेशिक रोजगार व्यवसायीलाई मात्र पहुँच दिई विभेद गरेर समान अवसरबाट वञ्चित गर्न सक्ने भन्दै चिन्ता समेत व्यक्त गरेको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको राजनीतिक तथा प्रशासनिक नेतृत्व र नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्व समग्र वैदेशिक रोजगार क्षेत्रलाई नीतिगत सुधारका माध्यमबाट सम्मानित, पारदर्शी, व्यवस्थित र मर्यादित बनाउन दत्तचित्त रहेको भन्दै संघले कुशल कूटनीतिक प्रयासद्वारा मलेसिया रोजगारलाई निरन्तरता दिने भूमिका खेल्न परराष्ट्र मन्त्रालयसँग आग्रह गरेको छ ।

मलेसियाको एफडब्लुसिएमएसमा नेपाल सरकारको सहमतिबिना नै २५ मुख्य र उनीहरू मातहत १० गरी २७५ नेपाली म्यानपावर कम्पनी दर्ता गरिएपछि मलेसियाको रोजगारीमाथि अन्योलता गहिरिएको छ । श्रम मन्त्रालयले वैदेशिक रोजगार विभागलाई एफडब्लुसिएमएसमा नाम समावेश भएका म्यानपावर कम्पनीको मागपत्रमा पूर्वस्वीकृति प्रदान नगर्न निर्देशन दिएको छ । मलेसियास्थित नेपाली दूतावासले पनि उनीहरूको प्रमाणीकरण रोकेको बताएको छ ।

मलेसियामा विदेशी कामदारहरूको भर्नाको समग्र प्रक्रियालाई स्वचालित रूपमा व्यवस्थापन र नियन्त्रण गर्न एफडब्लुसिएमएस प्रणाली प्रयोगमा ल्याइएको छ । तर त्यसमा नेपालसँगको द्विपक्षीय श्रम सम्झौतामा उल्लेखित संयुक्त कार्यदलमा समेत छलफल नगरी नेपालका २७५ म्यानपावर कम्पनीको नाम समावेश गरिएको श्रम मन्त्रालयको भनाइ छ । अदक्ष नेपाली श्रमिकको मुख्य गन्तव्य मलेसियामा लगभग ४ लाख नेपाली कामदारहरू छन् । नेपालमा देखिएको गतिरोधको समस्या समाधान नभएको अवस्थामा नेपाल आउने डिमान्ड बंगलादेश डाइभर्ट हुने विश्लेषण गरिएको छ ।