झापा ।
मलेसिया रोजगारीमा एकाधिकार (सिन्डिकेट) भित्र्याउन लागेको विषय प्रतिनिधिसभामा प्रवेश गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मुख्य २५ र उनीहरू प्रत्येक मातहत १० म्यानपावर कम्पनी रहने मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस) को तयारीविरुद्ध पहल गरिरहेका बेला बिहीबार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले उक्त विषय प्रवेश गराएका हुन् । लामो समयदेखि चर्चामा रहेको मलेसियाको एफडब्लुसिएमएसको तयारीबारे संसद्मा बिहीबार पहिलोपटक आवाज उठेको हो ।
सांसद राईले मलेसियाको एफडब्लुसिएमएसले गरेको तयारी नेपालको संविधान, प्रतिस्पर्धा तथा बजार प्रवर्धन ऐन र वैदेशिक रोजगार ऐनसमेतको विपरीत रहेको बताए । हार्वर्ड बिजनेस स्कुलका माइकल ई. पोर्टरले सन् १९७९ मा हार्वर्ड बिजनेस रिभ्युमा प्रकाशित गरेको लेख उद्धृत गर्दै सांसद राईले स्वस्थ प्रतिस्पर्धाविरुद्धका गतिविधिमाथि सरकारले छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गरे ।
उनले भने, ‘लाइसेन्स दिँदा सबै बराबर, रोजगारी आउँदा केही मात्रै बराबर ? यो समानता होइन । २४ वा २६ किन भएन ? किन २५ भयो ? २५ छान्ने मापदण्ड के हो ? बंगलादेशमा असफल भएको प्रणाली नेपालमा लगाउन २५ म्यानपावर कसले छान्यो ? किन छान्यो ? गलत तरिकाले गरिएको लगानी तथा हुण्डीलगायतका विषयमा छानबिन गरी दोषीलाई कारबाही गरियोस् ।’
नेपाली कांग्रेसको शुभेच्छुक संस्थाका रूपमा रहेको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका महासचिव सुमनराज पाण्डेले सिन्डिकेटविरुद्ध सशक्त रूपमा आन्दोलनमा उत्रिने एसोसिएसनको निर्णयअनुसार मलेसिया सिन्डिकेटबारे पार्टी सभापति गगनकुमार थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे तथा सचेतक राईसँग छलफल भएको बताए । उक्त छलफलपछि बिहीबार राईले प्रतिनिधिसभामा सो विषय उठाएका हुन् । केही दिनपछि संसदीय दलका नेता आङ्देम्बेले पनि मलेसिया सिन्डिकेटविरुद्ध संसद्मा धारणा राख्ने आश्वासन दिएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले एफडब्लुसिएमएसमा नेपालका २७५ म्यानपावर कम्पनीको नाम दर्ता भएको सम्बन्धमा बुधबार श्रम मन्त्रालयको ध्यानाकर्षण गराएको थियो । मलेसियाको एफडब्लुसिएमएस प्रणालीमा नाम रहेका २७५ म्यानपावर कम्पनीमध्ये करिब १७० म्यानपावर कम्पनीका सञ्चालकलाई संघमा बोलाएर सिन्डिकेटमा सहभागी नहुने, आफूलाई सब–एजेन्टका रूपमा राख्ने म्यानपावर कम्पनीविरुद्ध उजुरी गर्ने र एफडब्लुसिएमएसविरुद्ध पनि कानुनी प्रक्रियामा जाने कागज गराएको संघका तृतीय उपाध्यक्ष लक्ष्मण पौडेलले बताए ।
संघले सूचीकृत कम्पनीले आफू निर्दोष भए सो प्रणालीमा नाम राखिदिने संस्थाविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाउनुपर्ने बताएको छ । संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ले सिन्डिकेटमा लाग्ने जोसुकै भए पनि कारबाही हुने बताएका छन् ।


















