झापा ।
झापा गाउँपालिका–७ मदरगाछमा ट्युवेलमा भाँडा माझिरहेकी महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा गाउँपालिका–७ मदरगाछ टोलका ३५ वर्षीय सन्त गणेश रहेका छन्। प्रहरीका अनुसार उनले भदौ २० गते राति करिब ९ बजे मादक पदार्थ सेवन गरी खाना खाएर घरबाहिर ट्युवेलमा भाँडा माझिरहेकी ३८ वर्षीया महिलामाथि जबर्जस्ती करणी गरेको आरोप छ।
घटनापछि पीडित महिलाले बिहीवार अर्थात भदौ २५ गते साँझ जिल्ला प्रहरी कार्यालय झापामा लिखित जाहेरी दिएकी थिइन्। जाहेरी परेपछि प्रहरी चौकी शरणामतिबाट टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो।
प्रहरी टोलीले आरोपित गणेशलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापा ल्याएको जनाएको छ। पीडित महिलालाई स्वास्थ्य तथा शारीरिक परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


















