बिर्तामोड ।
रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा बेपत्ताको शीघ्र उद्धार र सकुशलताको कामना गर्दै झापाको बिर्तामोडमा सोमबार साँझ १००८ दीप प्रज्ज्वलन गरिएको छ।
वैदिक सनातन धर्म संरक्षण समिति नेपाल र लायन्स क्लबहरूको आयोजनामा भएको दीप प्रज्ज्वलन कार्यक्रममा सहभागीहरूले बाढीमा परी ज्यान गुमाएकाको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए। साथै, बेपत्ता भएकाहरूको शीघ्र उद्धार तथा सकुशल घर फिर्तीको कामना गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले विपद्को यस घडीमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै मानवीय संवेदना र सहयोगको भावना अभिव्यक्त गरेका थिए।


















