झापा ।
वैदेशिक रोजगारीमा जाने श्रमिकका अधिकारका पक्षमा पैरवी गर्दै आएका सरोकारवालाहरूले रसुवाको भोटेकोशीमा आएको अकल्पनीय बाढीले वैदेशिक रोजगारी तथा मानव बेचबिखनको जोखिम बढाएको भन्दै चिन्ता व्यक्त गरेका बताएका छन् । वैदेशिक रोजगारीबाट फर्केका महिला श्रमिकहरूको संस्था पौरखी नेपालको शनिबार राजधानीमा आयोजित नवौं अधिवेशन तथा २४औं वार्षिक साधारणसभामा शुभकामना मन्तव्य राख्दै वैदेशिक रोजगार क्षेत्रका सरोकारवालाहरूले मानव बेचबिखनको जोखिम बढेकाले चनाखो हुनुपर्नेमा जोड दिए ।
सार्क ट्रेड युनियन महासंघका अध्यक्ष लक्ष्मण बस्नेतले हालैको प्राकृतिक विपत्तिले वैदेशिक रोजगारीको प्रवृत्तिसँगै जोखिम पनि बढ्ने भन्दै सरकार र सरोकारवालाहरूले स्पष्ट दृष्टिकोण लिएर काम गर्नुपर्ने बताए । उनले विगतमा भूकम्प आउँदा आश्रय तथा अभिभावक गुमाएका बालबालिका तथा किशोरीलाई मानव तस्करहरूले विभिन्न बहाना बनाएर सीमापार पु¥याएकाले यस पटक पनि सोही प्रवृत्ति दोहोरिन सक्ने खतरा औंल्याए ।
सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष कृष्ण न्यौपानेले ऐन–कानुनमा सुधार नभएसम्म वैदेशिक रोजगारीमा सुधार ल्याउन नसकिने भन्दै प्राकृतिक विपत्तिले निम्त्याउने जोखिमयुक्त वैदेशिक रोजगारीका चुनौती सामना गर्न पनि गैरसरकारी क्षेत्रले भूमिका खेल्नुपर्ने बताए ।
संस्थापक अध्यक्ष मञ्जु गुरुङले श्रम आप्रवासनको सम्पूर्ण चक्रमा आप्रवासी श्रमिकहरूको कानुनी तथा व्यावहारिक अधिकार सुनिश्चित गर्न पौरखी नेपालले जिल्ला तथा समुदायस्तरमा उनीहरूलाई लक्षित गरी सुरक्षित आप्रवासन, सशक्तीकरण, क्षमता अभिवृद्धि, वैकल्पिक जीविकोपार्जन तथा पुनःएकीकरण, नीति वकालत तथा पैरवीलगायतका विभिन्न कार्यक्रमहरू गरिरहेको बताइन् । उनले प्रविधिमा आएको विकासले गलत सूचनाका कारण जोखिम बढाई आधुनिक दासत्वको अवस्था सिर्जना भएकाले वैदेशिक रोजगार क्षेत्र थप सचेत हुनुपर्नेमा जोड दिइन् ।
पौरखी नेपालले रिटर्नी श्रमिकका मुख्य ६ क्षेत्रमा केन्द्रित रहेर काम गर्ने जनाएको छ । पौरखी नेपाल वैदेशिक रोजगारीमा गई स्वदेश फर्किएका महिला श्रमिकहरू संगठित भई श्रमिकहरूको अधिकार सुनिश्चित गर्ने उद्देश्यले सन् २००३ मा स्थापना भएको हो । संस्थाकी महासचिव सिन्धु अर्यालले वार्षिक प्रतिवेदन पेस गर्दै नैतिक भर्ना तथा रोजगारदाताले लागत व्यहोर्ने सिद्धान्त र शून्य–शुल्क भर्ना प्रणालीका लागि वकालतलाई थप सुदृढ गर्ने, घरेलु तथा स्याहार कार्यलाई मर्यादित श्रमका रूपमा मान्यता दिलाउन पहल गर्दै लैंगिक उत्तरदायी आप्रवासन शासन प्रवर्धन गरी वैदेशिक रोजगारीबाट फर्केका, विशेषगरी महिला आप्रवासी श्रमिकहरूका लागि दिगो पुनःएकीकरण तथा जीविकोपार्जनका कार्यक्रमहरू विस्तार गर्ने विषयमा काम गर्ने बताइन् ।
संस्थाले नीति निर्माण तथा सेवा प्रवाहमा स्थानीय सरकारको भूमिका सुदृढ गर्न स्थानीय सरकारसँगको संलग्नता र सहकार्यलाई थप गहिरो बनाउने बताएको छ । राष्ट्रिय, क्षेत्रीय तथा विश्वव्यापी स्तरमा ग्लोबल कम्प्याक्ट फर माइग्रेसन, ग्लोबल फोरम अन माइग्रेसन एन्ड डेभलपमेन्ट तथा सम्बन्धित प्रक्रियामार्फत प्रमाणमा आधारित नीति वकालतलाई निरन्तरता दिने पनि संस्थाले जनाएको छ । साथै संस्थाले सरकारी निकाय, विकास साझेदार, आप्रवासी–नेतृत्वका संस्था तथा नागरिक समाजका सञ्जालहरूसँगको साझेदारी र सहकार्यलाई थप सुदृढ गर्ने पनि बताएको छ ।
कोषाध्यक्ष राजु गुरुङले गत आर्थिक वर्षको ८८ लाख २२ हजार बढीको आय–व्यय पेस गर्दै आर्थिक स्रोत जुटाउन संघर्षरत रहेको बताइन् । उनले २१ जिल्लामा काम गरिरहेको जानकारी दिइन् । कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी कुमार यात्रुलाई उनको सञ्चारकर्म र आप्रवासन क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको छ । पौरखी नेपालकी अध्यक्ष सत्रकुमारी गुरुङको अध्यक्षतामा कार्यक्रम सम्मपन्न भएको थियो ।

















