बिर्तामोड।
नेपाल कलवार सेवा समिति झापाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु १ लाख ६३ हजार ४ सय ५५ सहयोग प्रदान गरेको छ। समितिका अध्यक्ष राजकिशोर चौधरी, सचिव संजय चौधरी तथा सल्लाहकार सत्यनारायण चौधरीको विशेष पहलमा झापाका कलवार समुदायबाट संकलन गरिएको उक्त रकम विपद्मा परेका नागरिकको राहत तथा पुनर्स्थापनाका लागि कोषमा जम्मा गरिएको हो।
समितिले संकलित रकम रकम हिमालय बैंक लिमिटेडमा रहेको प्रधानमन्त्री राहत कोषको आधिकारिक खातामा बिहीबार जम्मा गरेको जानकारी दिएको छ।
अध्यक्ष राजकिशोर चौधरीले देशमा आइपर्ने प्राकृतिक विपत्ति र संकटको घडीमा सामाजिक उत्तरदायित्व बहन गर्दै सहयोग रकम हस्तान्तरण गरिएको बताए। उनले आगामी दिनमा पनि यस्ता मानवीय र सामाजिक कार्यलाई समितिले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। नेपाल कलवार सेवा समिति झापाले सामाजिक, सांस्कृतिक तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा निरन्तर विभिन्न कल्याणकारी कार्यहरू गर्दै आएको छ।


















