झापा । 

नेपालमा हालै आएको विनाशकारी बाढीपछि उद्धार कार्यमा सहयोग गर्न मलेसियाको विशेष विपद् व्यवस्थापन तथा उद्धार टोली आज नेपाल आउने भएको छ ।

नेपालमा भोटेकोशी बाढीप्रभावित क्षेत्रमा ५५ जनाभन्दा बढी मलेसियाली नागरिक सम्पर्कविहीन अवस्थामा छन् । सुरुमा नेपाल सरकारले विदेशी उद्धार टोलीहरू स्वीकार नगर्ने निर्णय गरेको थियो । तर, मलेसियाको विदेश मन्त्रालय र नेपाल सरकारबीच कूटनीतिक वार्तापछि नेपाल सरकारले मलेसियाली उद्धार टोलीलाई नेपाल आउने अनुमति दिएको हो ।

मलेसियाली राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका अनुसार यो विशेष टोली शनिबार सुबाङ एयर बेसबाट नेपालका लागि प्रस्थान गर्नेछ । मलेसियाले नेपालका बाढीपीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि १० लाख अमेरिकी डलर आर्थिक सहायता दिने घोषणा पनि गरेको छ ।