लक्ष्मीपुर ।
झापाको बिर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको निर्वाचन मिति नजिकिदै जाँदा उम्मेद्वारहरुले चुनावी प्रचारप्रसारलाई तीव्र पारेका छन् । देशकै सवै भन्दा ठूला सहकारी सहाराको आगामी असोज १० गते हुने निर्वाचनमा उम्मेद्वारी दिएकाहरुले सामाजिक सञ्जालमा प्रचारप्रसारलाई तीव्र पारेका हुन् ।
यसै क्रमममा अध्यक्ष पदमा उम्मेद्वारी दिएका संस्थाका अग्रज तथा संस्थापकसमेत रहेका भरतकुमार गिरीले उम्मेद्वारीसँगै ६ बुँदे प्रतिवद्धता पनि सार्वजनिक गरेको छन् । उम्मेद्वार गिरीले प्रविधिमैत्री सेवा र डिजिटल सहकारी, छिटो, छरितो र प्रभावकारी सेवा, सदस्यको हित सर्वोपरि, पारदर्शिता, जवाफदेहिता र सुशासन, सशक्त संस्था, समृद्ध सदस्य र विश्वासलाई सुधार दिने प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
‘हिजोको सम्मान, आजको नयाँ सोच, भोलिको समृद्ध सहारा’ भन्ने मुल नाराका साथ गिरीले उम्मेद्वारी दिएको बताए । गिरीका अनुसार सहारा नेपालको समृद्ध यात्रामा अब नयाँ ऊर्जाका साथ उम्मेद्वारी दिइएको हो ।
सहारा नेपाल साकोस आजको स्थानसम्म आईपुग्नुमा अग्रजहरूको अनुभब, योगदान र सदस्यहरुको विश्वासको महत्वपूर्ण भूमिका रहेको उनले बताए । ‘बदलिँदो समयसँगै संस्थालाई अझ पारदर्शी, प्रविधिमैत्री, सदस्यकेन्द्रित र समयसापेक्ष बनाउँदै सदस्यहरुको विश्वासलाई सुधार दिनु हाम्रो प्रतिबद्धता हो ।’ उम्मेद्वार गिरीले भने ।
नयाँ दृष्टिकोण, नयाँ सोच, नयाँ ऊर्जा, सदस्य केन्द्रित सेवा, पारदर्शी र जवाफदेही नेतृत्व संस्थाको आगामी योजना भएकाले एकपटक नयाँ सोचलाई अवसर दिनु पर्नेमा गिरीको जोड छ । गिरीले धेरै संघसंस्थामा नेतृत्वमा बसेर काम गरिसकेको आफ्नो अनुभव र क्षमतालाई संस्थामा जोड्न पनि उम्मेद्वारी दिएको बताए । संस्थाको अध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा भरतकुमार गिरीसहित छविलाल खतिवडा र उपेन्द्रप्रसाद ओलीले उम्मेदवारी दिएका हुन् ।
त्यस्तै, वरिष्ठ उपाध्यक्ष पदका लागि पाँच जना र महिला उपाध्यक्ष पदका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्षमा नेत्रबहादुर नेपाल, प्रेमप्रसाद पौडेल, ज्ञानुनाथ मैनााली, टेकनाथ खनाल (टंक) र हेमराज गिरी छन् । महिला उपाध्यक्षतर्फ पार्वता भारती गिरी, नर्वदा सग्र्रौला, हरिमाया सिग्देल, गुहेश्वरी बुढाथोकी र खीनमाया बस्नेतको उम्मेदवारी परेको छ ।
कोषाध्यक्ष पदका लागि पनि पाँच जनाले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा लक्ष्मीप्रसाद आचार्य, दुर्गाप्रसाद भण्डारी, भीमबहादुर गिरी, भोला धिताल र विकास रिजाल प्रतिस्पर्धामा छन् । सदस्य पदका लागि खुलातर्फ ४२ जना, महिलातर्फ १० जनाले उम्मेद्वारी दिएका छन् भने र लेखा सुपरिवेक्षण समितिको संयोजकमा डम्बर देउजा र शंकर सुवेदी साथै सदस्यहरुले पनि उम्मेदवारी दिएका छन् ।


















