झापा । 

गत वर्ष असोजमा परेको अविरल वर्षा र त्यसपछि आएको बाढीबाट प्रभावित परिवारको क्षति न्यूनीकरण तथा आवास पुनस्र्थापनाका लागि सञ्चालित नेपाल बाढी प्रतिकार्य परियोजनाको सामाजिक लेखा परीक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । 

सहारा नेपालको आयोजनामा आज (सोमवार) झापा गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा परियोजनाका गतिविधि, उपलब्धि तथा खर्च विवरण सार्वजनिक गरिएको हो । 

जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको प्रमुख आतिथ्यता, सहारा नेपालका उपाध्यक्ष सोमनाथ तिम्सिनाको अध्यक्षता तथा झापा गाउँपालिकाकी कार्यबाहक अध्यक्ष अञ्जुदेवी थपलियाको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा झापा गाउँपालिका, ह्याबिट्याट फर ह्युमानिटी नेपाल, सहारा नेपालका प्रतिनिधि, लाभग्राही तथा अन्य सरोकारवालाहरूको उल्लेखिय सहभागिता रहेको थियो ।

गत वर्षको बाढीबाट बढी प्रभावित झापा गाउँपालिकाका वडा नं. १, २, ३ र ७ मा केन्द्रित परियोजना अन्तर्गत एक एक सय ११ वटा अस्थायी आवास, १० वटा बाढी तथा अपाङ्गमैत्री आवास र १३ वटा स्थायी आवास निर्माण गरिएको छ । साथै, ४ सय  घरपरिवारलाई आवास मर्मत तथा संभारका लागि आर्थिक सहयोग प्रदान गरिएको कार्यक्रममा जानकारी दिइयो ।

परियोजनाले आवास निर्माण तथा मर्मतसम्भारसँगै विपद् जोखिम न्यूनीकरण र सुरक्षित पुनर्निर्माणसम्बन्धी जनचेतना अभिवृद्धिका लागि सामुदायिक होर्डिङ बोर्ड स्थापना, एफ.एम. रेडियोमार्फत सूचनामूलक सन्देश प्रसारण, अभिमुखीकरण तथा समन्वय कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रममा सहारा नेपालका सुरक्षित आवास कार्यक्रम संयोजक भीमप्रसाद भेटवालले परियोजनाका गतिविधि, प्रगति तथा उपलब्धिबारे जानकारी मुलक प्रस्तुतीकरण गरेका थिए । परियोजनाअन्तर्गत कूल खर्च २ करोड ७१ लाख ६३ हजार ६७१ रुपैयाँ रहेको जानकारी गराइएको थियो । सहभागीहरूले परियोजनाको कार्यान्वयन, पारदर्शिता तथा लाभग्राहीसँग सम्बन्धित विषयमा जिज्ञासा तथा सुझाव राखेका थिए ।

परियोजनाले बाढी प्रभावित परिवारलाई सुरक्षित आवासमा पहुँच पु¥याउनुका साथै सुरक्षित तथा विपद् प्रतिरोधी पुनर्निर्माण सम्बन्धी सामुदायिक सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको जनाइएको छ । कार्यक्रमको सञ्चालन सहारा नेपालकि कार्यक्रम अधिकृत कुसुम उप्रेतीले  गरेकी थिइन् । झापा गाउँपालिका, ह्याबिट्याट फर ह्युमानिटि नेपाल र सहारा नेपालको त्रिपक्षिय साझेदारीमा कार्यक्रम भएको थियो ।