• दीपक उप्रेती  

हल्दीबारी । 

समय फेरिँदै गएको छ, पुस्ता बदलिँदै गएका छन्। आधुनिक जीवनशैलीसँगै धेरै मौलिक परम्परा ओझेलमा पर्दै गएका बेला झापाको हल्दीबारी–३ स्थित सुरेश्वर स्वर्गद्वारी मन्दिर क्षेत्रको देवन्या खोलामा भने १५ वर्षदेखि धार्मिक तथा सांस्कृतिक परम्परा निरन्तर चलिरहेको छ।

यसै क्रममा जनैपूर्णिमाको अवसरमा यहाँ प्रत्येक वर्ष श्रद्धालुहरू भेला भएर सामूहिक स्नान (गण स्नान) तथा धार्मिक विधिअनुसार जनै परिवर्तन गर्ने परम्परा गर्दै आएको छ। यसै क्रममा जनैपूर्णिमाका दिन बिहानै देवन्या खोलामा भेला भएका श्रद्धालुहरूले पवित्र जलमा सामूहिक स्नान गरी धार्मिक विधिअनुसार पुरानो जनै विसर्जन गर्ने र नयाँ जनै धारण गर्ने गरेका छन्। 

वैदिक मन्त्र तथा धार्मिक विधि अनुसार वरिष्ठ आचार्य सोमनाथ सुवेदी, वरिष्ठ आचार्य अर्जुन भट्टराईलगायतका आचार्यहरूको उपस्थितिमा जनै परिवर्तनको कार्य सम्पन्न हुँदै आएको छ।

यस वर्ष अर्थात आज (शुक्रवार) परेको जनैपूर्णिमाका अवसर भएको धार्मिक कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, स्थानीयवासी तथा सुरेश्वर स्वर्गद्वारी मन्दिर सञ्चालक समितिका अध्यक्ष गोविन्द बोहोरा र सचिव अभिषेक खतिवडालगायत दुई–दर्जनभन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो।

स्थानीयका अनुसार देवन्या खोलामा हुँदै आएको यो परम्परा केवल जनै फेर्ने धार्मिक कर्म काण्डमा मात्र सीमित छैन। यो पुर्खाले छाडेर गएको संस्कार, धर्म र संस्कृतिलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने अभियान समेत हो।

आधुनिकताको प्रभावसँगै मौलिक संस्कार तथा परम्परा हराउँदै गइरहेका बेला देवन्या खोलामा १५ वर्षदेखि निरन्तर हुँदै आएको यो धार्मिक गतिविधिले आफ्नो धर्म, संस्कृति र पहिचान संरक्षणको सन्देश दिइरहेको स्थानीयको भनाइ छ। ‘समय बदलियोस्, पुस्ता बदलियोस्ः तर आफ्नो संस्कार र संस्कृति कहिल्यै नहराओस् ’ तथा  भन्ने नारा तथा ‘पुर्खाको संस्कार जोगाऔँ, नयाँ पुस्तालाई हस्तान्तरण गरौँ’ भन्ने उदेश्यले देवन्या खोलामा जनैपूर्णिमाका अवसरमा निरन्तर हुँदै आएको सामूहिक स्नान र जनै परिवर्तनको यो परम्पराले धार्मिक आस्थासँगै स्थानीय सांस्कृतिक पहिचानलाई समेत जीवन्त राखेको छ।