झापा ।

 रसुवाको भोटेकोशीमा आएको भयानक बाढीबाट पीडितहरूको सहयोगका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र अन्य संघसंस्थाले मुठ्ठी फुकाएर सहायता जुटाउन सक्रियता देखाएका छन् ।

संघका महासचिव हिराबहादुर डाँगी (हरि) ले व्यवसायीहरूले अकल्पनीय पीडामा परेका तथा मृतकका आश्रित परिवारलाई सहयोग पुगोस् भनेर उल्लेख्य मात्रामा रकम जम्मा गरिरहेको जानकारी दिए ।

संघसहित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चलगायतका संघसंस्थाले अप्रत्याशित रूपमा आएको बाढीले अपूरणीय क्षति पु¥याएको भन्दै बाढी प्रभावितको उद्धार र पुनर्निर्माणका लागि सहायता जुटाउन केन्द्रित भएको बताएका छन् ।

संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ले श्रम गन्तव्य मुलुकका रोजगारदाताहरूलाई सम्बोधन गर्दै सहयोगका लागि अपिल गरेका छन् । संघका द्वितीय उपाध्यक्ष अनिल बोगेटीले ५० हजार, महासचिव डाँगीले ५० हजार र पूर्वप्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठले १ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

स्वास्थ्य संस्था सञ्चालक संघ नेपालले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित नागरिकको राहत, उद्धार तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्‍याउन प्रधानमन्त्री राहत कोषमा एकद्वार प्रणालीअनुसार सहयोग गर्न आग्रह गरेको छ । संघका अध्यक्ष मदनकुमार पुर्बे र महासचिव रघुनाथ पनेरु (कालिका) ले विज्ञप्तिमार्फत सक्दो सहयोगका लागि आह्वान गरेका छन् ।