बिर्तामोड । 

झापाको अर्जुनधारा नगरपालिकाले नगरपालिकाको सार्वजनिक स्थललाई धुम्रपान तथा मद्यपान पूर्ण रुपले निषेध घोषणा गरेको छ । ‘स्वच्छ, स्वस्थ तथा सभ्य समाज निर्माण गरौं, धुम्रपान तथा मद्यपान मुक्त सार्वजनिक स्थल बनाऔं’ भन्ने मुल नाराका साथ नगरले सार्वजनिक स्थललाई धुम्रपान तथा मद्यपान निषेध घोषणा गरेको हो । 

अर्जुनधारा नगरपालिका–५ वडा कार्यालयको आयोजनामा आज (बिहीवार) वडासहित नगरपालिका भित्रको सार्वजनिक स्थलमा धुम्रपान तथा मद्यपान निषेध घोषणा कार्यक्रम गरिएको छ । आज (बिहीवार) जनचेतनामुलक प्ले कार्डसहित र्याली गर्दै अर्जुनधाराको सार्वजनिक स्थललाई धुम्रपान तथा मद्यपान निषेध घोषणा गरिएको हो । 

अर्जुनधारा नगरपालिका–६ का वडाध्यक्ष हरिशचन्द्र बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रमुख आतिथ्य रहेको थियो । 

अर्जुनधारा–६ स्थित लक्ष्मीपुर माविबाट बिद्यार्थी, अभिभावक, शिक्षक तथा बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले जनचेतनामुलक प्ले कार्डसहित र्याली गर्दै सार्वजनिक स्थलमा धुम्रपान तथा मद्यपान पूर्ण रुपले निषेध गर्नुपर्नेमा जोड दिएका थिए ।