भद्रपुर । 

झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) जोखिम बढदै गएको छ । झापा जिल्लामा देखिएको जेई अर्थात मष्तिस्क ज्वरो रोग बारे स्थलगत अनुगमनमा त्यस्तो देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । 

 जेई बारे स्थलगत अनुगमन गरी देखिएका अवस्था बारेमा जानकारी र उक्त रोग रोकथाम तथा नियन्त्रण बारे आज (बिहीवार) भद्रपुरमा सरोकारवालाहरुसँग छलफल भएको हो । झापामा जोखिम बढ्दै गएको र हालसम्म ११ जनामा जेई संक्रमित भएको पुष्टि र ती मध्ये ६ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय झापाका प्रमुख बृजकुमार दासले जानकारी दिए । 

जिल्ला समन्वय समिति झापाकि उप–प्रमुख शान्ता रोकाको अध्यक्षतामा भएको कार्यक्रममा दासले झापामा जेई रोेगको अवस्था वारे स्थलगत अनुगमन सम्बन्धी प्रस्तुती दिएका थिए । दासका अनुसार झापाको मेचीनगर जेई रोगको उच्च जोखिमा रहेको छ । त्यस्तै बिर्तामोड, अर्जुनधारा नगरपालिका, हल्दीवारी, बाह्रदशी र कचनकवल गाउँपालिका पनि जोखिममा रहेको छ । 

जेई रोगको रोकथाम तथा जनचेतना अभिबृद्धि गर्ने उदेश्यले सरोकारवालाहरुसँग आज छलफल गरिएको बताइएको छ । जेई रोगको खोज दिने तयारी पनि गरिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । उक्त खोप चाँडैे दिइने बताइएको छ । छलफल कार्यक्रममा हल्दीवारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुस्कर निरौलाले पालिकाको अवस्थाका बारेमा जानकारी दिएका थिए । साथै अन्य उपस्थित सरोकारवालाहरुले पनि आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेलले गरेका थिए ।