शनिश्चरे ।
भोटेकोशी नदीमा आएको भीषण बाढीबाट बागमती प्रदेशका रसुवा, धादिङ, नुवाकोटलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति अर्जुनधारा नगरपालिकाले दुःख व्यक्त गर्दै विपद् प्रभावितका लागि राहत सहयोग जुटाउने प्रतिबद्धता जनाएको छ।
अर्जुनधारा नगरपालिकाका नगर प्रमुखको आह्वानमा बिहीबार आयोजित कार्यपालिका बैठक तथा छलफलबाट नेपाल सरकारको एकद्वार नीति बमोजिम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा कुल २१ लाख रुपैयाँ जम्मा गर्ने प्रतिबद्धता व्यक्त गरिएको हो।
छलफलमा स्थानीय उद्योगी, व्यवसायी, सामुदायिक वन तथा संस्थागत विद्यालयका प्रतिनिधिसहितको सहभागिता रहेको नगरपालिकाले जनाएको छ।नगरपालिकाले विपद्को कठिन घडीमा सामाजिक उत्तरदायित्वबोध गर्दै राहत कोषमा उदारतापूर्वक सहयोग गर्ने उद्योगी, व्यवसायी, संघ–संस्था, जनप्रतिनिधि तथा कर्मचारीहरूप्रति आभार व्यक्त गरेको छ।
नगरपालिकाले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै नगरवासीलाई आ–आफ्नो तर्फबाट यथासक्य सहयोग गर्नसमेत अपिल गरेको छ।
नगरपालिकाले भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।



















