झापा । 

तीन जना वैदेशिक रोजगार व्यवसायीले वैदेशिक रोजगार क्षेत्रको राजनीतिबाट अलग हुने बताएका छन् । एसिया लिंक सर्भिसेस प्रालिका सञ्चालक मिलन कट्टेल, द रिभर ओभरसिज प्रालिका सञ्चालक रघुनाथ पुरी र ट्रस्ट नेपाल ओभरसिज प्रालिका सञ्चालक रविन गुरुङले उक्त घोषणा गरेका हुन् ।

उनीहरूले मलेसियाको रोजगारीमा सिन्डिकेटको अर्थहीन आरोप र लाञ्छना लगाएर कार्यालय र सम्पत्तिमा हुलहुज्जत गरेका कारण संघसँगको आबद्धता त्यागेको बताएका छन् । त्यसअघि प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले तोकिएको समयमै स्पष्टीकरण पेस नगरी मञ्चको निर्णय अवज्ञा गरेको भन्दै तीनैजना व्यवसायीको संस्थाको साधारण सदस्यता समेत समाप्त गरेको जनाएको थियो ।

मञ्चले मलेसियाको एफडब्लुसिएमएसमा नाम रजिस्टर्ड भएको सार्वजनिक भएपछि भदौ ७ गते २४ घण्टाभित्र स्पष्टीकरण माग गरी २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न पत्राचार गरिएकोमा तोकिएको समयसीमाभित्र कुनै पनि संस्थाबाट स्पष्टीकरण वा जवाफ प्राप्त हुन नआएको भन्दै कारबाही गरिएको बताएको छ ।

यता वैदेशिक रोजगार व्यवसायीहरूले मलेसिया सिन्डिकेट खारेजीका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई ढिलासुस्ती गर्ने छुट नरहेको बताएका छन् । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले मंगलबार आयोजना गरेको मलेसिया सिन्डिकेटविरुद्धको व्यवसायी भेला तथा हस्ताक्षर अभियानमा उपस्थित व्यवसायीहरूले मलेसियाको एफडब्लुसिएमएसमा नाम रहेका २५ जना व्यवसायीको नाम हटाउने कुरामा ढिलासुस्तीले निकास नहुने भन्दै संघ थप सशक्त हुनुपर्ने बताए ।

सभालाई संवोधन गर्दै एसोसिएसनका अध्यक्ष रामप्रसाद गैरेले एसोसिएसनले मलेसियाको रोजगारीमा सिन्डिकेट देखिएको भन्दै त्यसविरुद्ध एकताबद्ध भई व्यवसाय र व्यवसायीको अस्तित्व, स्वतन्त्रता र नैसर्गिक अधिकार जोगाउने महाअभियान सुरु गरेको बताए । उनले युवा, श्रम तथा रोजगार मन्त्रालयमा सोमबार भएको छलफलले व्यवसायी ढुक्क हुनुपर्नेमा त्रसित भएको भन्दै एसोसिएसनले सिन्डिकेटविरुद्ध खबरदारी भेला तथा हस्ताक्षर अभियान चलाउने निर्णय गरेको बताए । महासचिव सुमनराज पाण्डेले सिन्डिकेटधारीहरूले अन्य व्यवसायीको नाडी छामिरहेको भन्दै एकताबद्ध भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिए ।