झापा ।
मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस) अन्तर्गत रजिस्टर्ड भएका २५ वटा म्यानपावर कम्पनीले नाम फिर्ता लिन सहमति जनाएका छन् ।
युवा, श्रम तथा रोजगार मन्त्रालयसँग भएको छलफलमा ती कम्पनीका सञ्चालकहरूले नाम फिर्ता लिन सहमति जनाएका छन् । मलेसियाले शुक्रबार श्रमिक आपूर्ति गर्ने मुख्य स्रोत मुलुक नेपालका २५ म्यानपावर कम्पनीलाई एफडब्लुसिएमएसमा रजिस्टर्ड गरेको सार्वजनिक भएको थियो ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हिराबहादुर डाँगी (हरि) ले नाम फिर्ता गर्ने विषयमा भएको सहमति लेखबद्ध गर्ने काम भइरहेको प्रक्रिया टुंगोमा पुगेपछि प्रतिक्रिया दिने बताए ।
मन्त्रालयले संघको समन्वयमा २५ म्यानपावर कम्पनीका सञ्चालकसँग छलफल गरेको मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए । संघसँगै मन्त्रालय पनि मलेसियाको एफडब्लुसिएमएसअन्तर्गत नेपालका २५ वटा म्यानपावर कम्पनी सूचीकरण भएको विषयको विपक्षमा उभिएको छ ।

















