झापा । 

मलेसियाले विदेशी कामदार भर्ना गर्न चाहने रोजगारदाताका लागि अनलाइन आवेदन प्रणाली कार्यान्वयनमा ल्याएको छ । नयाँ प्रणाली लागू भएसँगै रोजगारदाताले विदेशी कामदार भर्नाका लागि म्यानुअल रूपमा आवेदन बुझाउन सरकारी कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ ।

अब विदेशी कामदार भर्ना सम्बन्धी आवेदनको सम्पूर्ण प्रक्रिया विदेशी कामदार केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसिएमएस) मार्फत अनलाइन सञ्चालन हुने भएको छ। मलेसियाले अनलाइन प्रणाली  कार्यान्वयनमा ल्याएसँगै एफडब्लूसिएमएसमा नेपालका २५ वटा म्यानपावर कम्पनीका नाम दर्ता भएका छन् ।

मलेसियाको मानव संसाधन मन्त्रालयका अनुसार आवेदन प्रक्रियालाई डिजिटल बनाउनुको उद्देश्य रोजगारदाताले सरकारी कार्यालयमा पटक–पटक जानुपर्ने झन्झट हटाउनु, पर्खाइको समय घटाउनु तथा प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउनु हो ।यद्यपि, अनलाइन प्रणाली लागू भए पनि विदेशी कामदार भर्नासम्बन्धी विद्यमान मापदण्ड तथा प्रक्रियालाई खुकुलो नबनाइएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, एफडब्लूसिएमएसमा नेपालका २५ वटासहित फिलिपिन्सका ४३५, बंगलादेशका २५, कम्बोडियाका २३, भारतका १०, म्यानमारका १० र पाकिस्तानका १० म्यानपावर कम्पनीसमेत दर्ता भएका छन् ।