बिर्तामोड।
सामाजिक सेवामा सक्रिय लायन्सका डिष्ट्रिक ३२५ अन्तरगत झापामा सक्रिय विभिन्न ६ वटा लायन्स तथा ३ वटा लियो क्लबका सन् २०२६/०२७ का नेतृत्वहरुले जिम्मेवारी ग्रहण गरेका छन् । बिहीबार विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच ३२५ का डिष्ट्रिक गर्भनर लीलाप्रसाद चिमरियाले लायन्सले नयाँ नेतृत्वलाई पदस्थापन गराएसंगै क्लबको जिम्मेवारी नयाँ नेतृत्वमा सरेको हो ।
कार्यक्रममा लायन्स क्लब अफ बिर्तामोड, लायन्स क्लब अफ अनारमनी, लायन्स क्लव अफ बिर्तामोड स्मार्ट लेडी बिर्तामोड, लायन्स क्लब अफ बिर्तामोड लेडी, लायन्स क्लब अफ धाइजन–चारआली, बिर्तामोड, लायन्स क्लब अफ मेचीनगरको संयुक्त आयोजनामा क्लबका नयाँ नेतृत्वलाई पदहस्तान्तरण गरिएको थियो ।

डिष्टिक गभर्नर चिमरियाको प्रमुख आतिथ्य तथा स्मार्ट लेडीकी सन् २०२६/०२७ की अध्यक्ष सरु भुर्तेल खनालको अध्यक्षतामा सम्पन्न इन्डक्ट, इन्सटलेसन कार्यक्रममा प्रमुख अतिथि चिमिरया, निवर्तमान गभर्नर बबरजंग थापा, तथा लायन्सका डिष्टिक, एरिया, क्लबसहित लायन्स संरचनाका विभिन्न जिम्मेवारीमा रहेका रमेश खत्री, उदय बराल, धिरज गुरूङ, धनकुमारी गुरूङ, मिना दंगाल, रोशन बुढाथोकी, रामचन्द्र मिश्र लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा पदभार ग्रहण गरेका क्लबका नयाँ अध्यक्षहरुले प्रतिवद्धता मन्तव्य राखेका थिए ।
सोही कार्यक्रममा लायन्स जीवनको युवा शक्ति मानिने ३ वटा लियो क्लबको समेत पदस्थापन गराइएको थियो भने क्लबका नवप्रवेशीहरुलाई सफत ग्रहण समेत गराइएको थियो । सन् १९१७ मा अमेरिकाको शिकागोमा स्थापना भएको लायन्स क्लबको नेपालमा १९७१ मा जन्म भएको हो । नेपालमा लायन्सका जन्मदाताका रुपमा मातृकाप्रसाद कोइराला हुन् । कोइरालाले बिराटनगरमा क्लब गठन गरेर पहिलो पटक नेपालमा लायन्स क्लबलाई औपचारिक रुपमा स्थापना गरेका थिए ।
१५ वटा डिष्टिक रहेको लायन्समा नेपालमा झण्डै ४८ हजार सदस्य रहेको बताइएको छ । प्रत्येक वर्षको जुलाई १ बाट प्रारम्भ हुने १ वर्षे कार्यकाल रहेको लायन्सले सन् २०२६/०२७ मा सेवा क्षेत्रलाई प्राथमिकतामा राखेको डिष्टिक गभर्नर चिमिरयाले जानकारी दिए । चिमरियाले यो औपचारिक कार्यक्रममा धेरै समय खर्च नगर्न तथा सेवाका काममा खादा, माला प्रयोग नगर्न अनुरोध गरे ।
लायन्सले यो वर्ष महिलामा हुने पाठेघरको क्यान्सर स्यानिङ, गर्भवती महिलालाई पोषणयुक्त खानेकुरा वितरण, स्कुल सपोर्ट कार्यक्रम, सामुदायिक विद्यालयको शौचालय सुधार कार्यक्रम लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । शिला भट्टराई र हेमन्त पाण्डेले सञ्चालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन दिपक कार्कीले गरेका थिए ।
प्रतिक्रिया 0